२०८३ बैशाख २६ गते शनिवार

इरानको घोषणापछि विश्वबजारमा घट्यो तेल मूल्य


इरानले स्ट्रेट अफ होर्मुज युद्धविराम अवधिभर व्यावसायिक जहाजका लागि पूर्ण रूपमा खुला रहने घोषणा गरेपछि विश्वबजारमा तेलको मूल्य उल्लेख्य रूपमा घटेको छ । ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९८ डलरबाट झरेर करिब ८८ डलरमा पुगेको छ ।

बिबिसीका अनुसार इरानका विदेशमन्त्री अब्बाज अराघ्चीले सबै व्यावसायिक जहाजलाई मार्ग खुला गरिएको बताउनुभएको छ ।

यस कदमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वागत गर्नुभएको छ ।

स्ट्रेट अफ होर्मुज विश्वको करिब २० प्रतिशत तेल र ग्यास ढुवानी हुने मुख्य मार्ग हो । अमेरिका–इजरायलको आक्रमणपछि इरानले यो मार्ग बन्दजस्तै बनाएको थियो, जसका कारण जहाज आवागमन घट्दै तेल तथा ग्यास आपूर्ति प्रभावित भएको थियो ।

घोषणापछि विश्व शेयरबजारमा सुधार देखिएको छ । एस एन्ड एपी ५०० १.२ प्रतिशतले बढ्दा युरोपका प्रमुख सूचकहरू पनि करिब २ प्रतिशतले उकालो लागेका छन् ।

यद्यपि, अन्तर्राष्ट्रिय ढुवानी संगठनहरूले अझै जोखिम कायम रहेको चेतावनी दिएका छन् । बिम्कोले समुद्री क्षेत्रमा बारुदी सुरुङको खतरा स्पष्ट नभएकाले जहाजलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय समुद्री संगठनका प्रमुख आर्सेनियो डोमिन्गुएजले मार्ग सुरक्षित र अन्तर्राष्ट्रिय नियमअनुसार खुला भएको सुनिश्चित गर्न थप जानकारी आवश्यक रहेको बताउनुभयो ।

युद्धका कारण तेलको मूल्य पहिले ७० डलरभन्दा तलबाट बढेर १०० डलरभन्दा माथि पुगेको थियो, जसले इन्धन, हवाई यात्रा र खाद्य उत्पादनमा समेत असर पारेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस