२०८३ जेष्ठ ४ गते सोमवार

जंगली च्याउ खाँदा देउखुरीमा एक महिला बिरामी

दाङ । देउखुरीमा जंगली च्याउ खाँदा एक जना महिला बिरामी परेकी छन् । गढवा गाउँपालिका ६ निवासी वर्ष ४० की पुतला रोका जंगली च्याउ सेवन गरेपछि बिरामी परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सिसौको रुखमा उम्रिएको च्याउ टिपेर पकाई खाँदा उनी अस्वस्थ भएकी हुन् । उपचारमा संलग्न उनका आफन्त लक्ष्मी घर्ती मगरले उक्त च्याउ खाएपछि अचानक स्वास्थ्य समस्या देखिएको बताएकी छन् । हाल रोकाको लमही अस्पताल मा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।

स्वास्थ्यकर्मीहरूले वर्षायाम तथा गर्मीयाममा जंगल, रुख वा खुला स्थानमा उम्रिने च्याउहरू विषालु हुन सक्ने भएकाले पहिचान बिना सेवन नगर्न आग्रह गरेका छन् । कतिपय जंगली च्याउ हेर्दा खान मिल्ने जस्तो देखिए पनि शरीरका लागि घातक हुन सक्छन् ।

विशेषज्ञहरूका अनुसार विषालु च्याउ सेवन गर्दा वान्ता हुने, पेट दुख्ने, झाडापखाला लाग्ने, टाउको दुख्ने, बेहोस हुने जस्ता समस्या देखिन सक्छन् । यस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ । लमही नगरपालिकाले ले पनि जंगली च्याउ सेवन गर्दा विशेष सावधानी अपनाउन र अरूलाई समेत सचेत गराउन आग्रह गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस