दाङ । दाङका स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट तथा नीति–कार्यक्रम निर्माणको तयारी सुरु गरेका छन् । केही पालिकाले वडाहरूलाई बजेट सिलिङ उपलब्ध गराएर योजना तयारी अघि बढाएका छन् भने केही पालिकाले छिट्टै सिलिङ निर्धारण गरेर प्रक्रिया अगाडि बढाउने जनाएका छन् ।
सङ्घीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको अवस्थामा प्रदेश सरकारसमेत बजेट निर्माणको तयारीमा जुटेको छ । सोहीअनुसार जिल्लाका स्थानीय तहहरूले पनि आगामी वर्षको बजेट तयारीलाई तीव्रता दिएका हुन् ।
कतिपय पालिकाले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेका छन् भने केहीले बजेटको आकार बढाउने संकेत गरेका छन् । अधिकांश स्थानीय तह आन्तरिक स्रोत कमजोर भएकाले सङ्घीय तथा प्रदेश सरकारको अनुदानमै निर्भर रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तयारी सुरु गरिसकेको जनाएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेले राजस्व परामर्श समितिको बैठक सम्पन्न भइसकेको र अन्य समितिका बैठकको तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार आगामी आर्थिक वर्षको बजेट चालु वर्षको तुलनामा वृद्धि हुने अपेक्षा गरिएको छ । चालु आर्थिक वर्षमा प्रत्येक वडालाई ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा आगामी वर्षका लागि एक करोड रुपैयाँको सिलिङ निर्धारण गरिएको छ । सोही आधारमा वडाहरूले योजना तथा बजेट निर्माण प्रक्रिया अघि बढाउने भएका छन् । शाखास्तरबाट समेत बजेट तयारी सुरु गरिएको जनाइएको छ ।
घोराही उपमहानगरपालिकाले पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट तयारीलाई अगाडि बढाएको छ ।













