२०८३ असार ५ गते शुक्रवार

लायन्स क्लब अफ दाङमा नयाँ नेतृत्वलाई पद हस्तान्तरण


तुलसीपुर । लायन्स क्लब अफ दाङको निर्वाचित नयाँ कार्यसमितिलाई बुधबार तुलसीपुरमा पद हस्तान्तरण गरिएको छ ।

सन २०२५/२६ का अध्यक्ष विनिल केसीको अध्यक्षता तथा निवर्तमान डिस्ट्रिक्ट गभर्नर लायन विनोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा लायन वर्ष २०२६/२७ का लागि निर्वाचित नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

क्लबको अध्यक्षमा लोकबहादुर बिष्ट सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । उहाँलाई निवर्तमान अध्यक्ष केसीले आगामी कार्यकालका लागि शुभकामना दिँदै पद हस्तान्तरण गर्नुभएको थियो ।

नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा गोपाल रावत, द्वितीय उपाध्यक्षमा सरोजकुमार लामिछाने, तृतीय उपाध्यक्षमा कोमल डीसी, सचिवमा रोमप्रसाद भट्टराई, सहसचिवमा माधवा पोख्रेल, कोषाध्यक्षमा हरिश गिरी र सहकोषाध्यक्षमा सूर्यप्रसाद शर्मा सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।

प्रमुख अतिथि निवर्तमान डिस्ट्रिक्ट गभर्नर श्रेष्ठले लायन्सको मूल मर्म निस्वार्थ सेवा भएकाले समाजको आवश्यकता पहिचान गरी प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ नेतृत्वले एकता, सक्रियता र समर्पणका साथ क्लबलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष विमल रिजालले लायन्स क्लबलाई सेवा सिकाउने विश्वविद्यालयको संज्ञा दिँदै सदस्यहरू विद्यार्थी सरह रहेको बताउनुभयो । उहाँले समाजसेवामा समयअनुसार परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै रक्तदान, वृक्षारोपण र सरसफाइमा मात्र सीमित नभई नतिजामुखी र प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।

लायन्स क्लब अफ तुलसीपुर ईशानका अध्यक्ष सुनिल खनालले सामाजिक अभियान सञ्चालनमा लायन्सले प्रेरणादायी भूमिका खेलेको बताउँदै सबै क्लब मिलेर वृहत् कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यस्तै लायन धुर्व गौतम, पूर्वअध्यक्ष टेकनप्रसाद कँडेल , पत्रकार नारायणी रजौरेलगायतका वक्ताहरूले संस्थाले सामाजिक क्षेत्रमा अझ सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

अध्यक्ष केसीले सामाजिक संस्थाको दिगोपन नै वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि भएको बताउँदै आफ्नो कार्यकालमा विभिन्न स्थानमा स्वास्थ्य शिविर, रक्तदानलगायतका महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । सानो भूगोलमा एउटै व्यक्ति विभिन्न क्लब तथा सामाजिक संस्थामा आबद्ध हुने अवस्था रहेको उल्लेख गर्दै संस्थाहरूबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

यसैबीच, क्लबले प्रत्येक वर्ष प्रदान गर्दै आएको स्वर्गीय विष्णु केसी स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार नारायणी रजौरेलाई नगदसहित सम्मानित गरेको छ । साथै, लायन वर्ष २०२५/२६ मा उत्कृष्ट कार्यसम्पादन गरेबापत तत्कालीन सचिव विजय गिरी पनि सम्मानित हुनुभएको छ ।

लायन गणेश भण्डारी, मदन केसी र सीता केसीलाई पनि सम्मानित गरिएको हो ।
उपाध्यक्ष कोमल डीसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण सचिव द्वय विजय गिरी र रोमप्रसाद भट्टराईले गर्नुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष लोकबहादुर बिष्टले क्लबलाई अझ प्रभावकारी, सक्रिय र सेवामुखी बनाउँदै समाजसेवाका कार्यक्रमलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस