तुलसीपुर । कृषकहरूलाई कृषि औजार तथा उपकरण मर्मतसम्भारसम्बन्धी सीप प्रदान गर्ने उद्देश्यले मिनी टेलर मर्मतसम्बन्धी पाँचदिने तालिम सोमबारदेखि तुलसीपुरमा सुरु भएको छ।
तुलसीपुर उपमहानगरपालिकाको सहयोग तथा नेचर प्रिजर्भेसन फोरमको आयोजनामा साेमबारदेखि वडा नम्बर ५ मा रहेकाे ज्ञानज्याेती प्राथमिक विद्यालयमा तालिमकाे उद्घाटन गरिएकाे हाे ।
फोरमका अध्यक्ष गणेश भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा वाेल्दै प्रमुख अतिथि पाण्डेले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणका लागि यान्त्रिकीकरण अपरिहार्य रहेको बताउनुभयो।
उहाँले कृषि यन्त्रको सही प्रयोगसँगै नियमित मर्मतसम्भार र सुरक्षा उपाय अपनाउन नसके दुर्घटनाको जोखिम बढ्ने उल्लेख गर्दै किसानले आफ्नै खेतवारीमा सामान्य मर्मत गर्न सक्ने सीप हासिल गर्नुपर्नेमा जोड दिनुभयो।
यन्त्रको उचित मर्मतसम्भारले उत्पादन लागत घटाउने र आम्दानी वृद्धि गर्ने भएकाले प्रत्येक वडामा कृषि यन्त्र मर्मत केन्द्र स्थापना गर्न आवश्यक रहेको धारणा राख्नुभयो।
वडा नम्बर ६ का अध्यक्ष दुजमान भण्डारीले कृषि क्षेत्रमा प्रविधि र यान्त्रिकीकरणको प्रयोग बढ्दै गएको अवस्थामा किसानलाई मर्मतसम्भारसम्बन्धी व्यावहारिक ज्ञान आवश्यक रहेको बताउनुभयो। यस्ता तालिमले कृषकलाई आत्मनिर्भर बनाउने र कृषि पेशालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।
कृषि विकास शाखा प्रमुख कुलराज चौधरीले पालिकाले विभिन्न समयमा कृषकलाई कृषि यान्त्रिकीकरणका सामग्री उपलब्ध गराउँदै आए पनि सामान्य प्राविधिक समस्यामा समेत मर्मत गर्न नसक्दा किसानले अतिरिक्त खर्च व्यहोर्नुपरेको बताउनुभयो। त्यही समस्यालाई न्यूनीकरण गर्न तालिम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले सीपमूलक तालिमले कृषकको दक्षता अभिवृद्धि गर्नुका साथै स्वरोजगारका अवसरसमेत सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।
२० जना कृषक सहभागी रहेको तालिममा मेकानिकल इन्जिनियर राजेन्द्र पोखरेल प्रशिक्षक रहनुभएको छ। सहायक प्रशासकीयअधिकृत शिवकुमार शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सदस्य केबी वलीले गर्नुभएको थियो।






















