दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि बजेट सुनिश्चित भएको छ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार विमानस्थलको १५ सय मिटर धावनमार्ग विस्तार तथा पूर्वाधार सुधारका लागि २५ करोड सुनिश्चित भएको हो ।
टरिगाउँ विमानस्थलका लागि एकैपटक यति ठूलो बजेट विनियोजन भएको यो पहिलोपटक हो । वर्षौँदेखि बजेट भाषणमा विमानस्थल विस्तारको चर्चा हुने गरे पनि पर्याप्त रकम अभावका कारण योजना कार्यान्वयनमा जान सकेको थिएन । यसपटक भने बजेट सुनिश्चित भएसँगै दाङबासीमा नयाँ आशा जागेको छ ।
हाल टरिगाउँ विमानस्थलको धावनमार्ग करिब ७५० मिटर मात्र रहेकाले ठूला जहाज सञ्चालन सम्भव छैन । अहिले १९ सिटे ट्विनअटर विमानले सीमित उडान गर्दै आएको भए पनि नियमित सेवा सञ्चालन हुन सकेको छैन । धावनमार्ग विस्तार गरी करिब १,५०० मिटर पुर्याउन सकिए ७२ सिट क्षमतासम्मका जहाज सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ ।
गएको जेठ १८ गते दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले अर्थमन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै टरिगाउँ विमानस्थलका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन भएको दाबी गर्नुभएको थियो । रातो किताब सार्वजनिक हुनुअघि आएको उक्त जानकारीप्रति धेरैले शंका व्यक्त गरेका थिए ।
सांसद सुवेदीले टरिगाउँ विमानस्थल अब नयाँ चरणमा प्रवेश गरेको बताउनु भएको छ । वर्षौँदेखि चर्चा मात्र सीमित रहेको टरिगाउँ विमानस्थल विस्तारको योजना यसपटक बजेटसहित अघि बढेपछि दाङबासीले अब वास्तविक कार्यान्वयनको प्रतीक्षा गरेका छन् ।

















