२०८३ साउन १ गते शुक्रवार

लामो समयपछि नेपालमा ह्वात्तै घट्यो इन्धनको मूल्य


दाङ । नेपालमा पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घटेको छ । नेपाल आयल निगमले आजबिहानदेखि लागु हुनेगरी इन्धनको मूल्य घटाएको हो । निगमले पेट्रोलमा २० रूपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ३० रुपैयाँले घटाएको छ ।

२८ फेब्रुअरीयता पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य बढेपछि नेपालमा पनि इन्धनको मूल्य बढेको थियो । तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि निगमले नघटाएको भन्दै आलोचनासमेत सुरु हुन थालेको थियो ।

पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको सुधारस्वरुप इण्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धन तथा एलपी ग्यासमा समेत घटेर आएको निगमले जनाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसादेखि १९७ रुपैयाँ कायम भएको छ । यसअघि २१४ रुपैयाँ ५० पैसादेखि २१७ रुपैयाँ थियो । डिजेलको मूल्य १९२ रुपैयाँ ५० पैसादेखि १९५ रुपैयाँ कायम भएको छ । यसअघि २२२ रुपैयाँ ५० पैसादेखि २२५ रुपैयाँ थियो । त्यस्तै एलपी ग्यासको मूल्य भरिएको एक सिलिन्डरको दुई हजार ६० र आधा भरिएको सिलिन्डरको एक हजार ३० रुपैयाँ कायम भएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस