दाङ । रोल्पामा बस दुर्घटना हुँदा करिब १४ जना यात्रु घाइते भएका छन् । त्रिवेणी गाउँपालिका–७ गाइबिसौनामा बुधबार दिउँसो साढे ३ बजेतिर घर्तीगाउँबाट काठमाडौंतर्फ जाँदै गरेकोे लु २ ख २९६६ नम्बरको बस ओरालोमा ब्रेक फेल भई दुर्घटना भएको हो ।
बसमा सवार करिब २५ यात्रुमध्ये झण्डै १४ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नुवागाउँ स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बस चालक माडी गाउँपालिका–२ का २६ वर्षीय चन्द्रवीर पुन रहेका छन् ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुवागाउँबाट प्रहरी सहायक निरीक्षक प्रेम हमालको नेतृत्वमा ट्राफिकसहितको टोली घटनास्थल पुगेर उद्धार गरेको हो । घाइतेहरूको पहिचान र दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



















