दाङ । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उहाको वीर अस्पतालमा उपचार भइरहेको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन ।
वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार आगोले अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुर्याएको थियो । अस्पताल ल्याइएलगत्तै उनको श्वासप्रश्वासमा समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको थियो ।
नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्नु भएको थियो । घटनालगत्तै उहालाई उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो ।



















