दाङ । दाङमा चालु आर्थिक वर्षको जिल्ला दररेट सार्वजनिक गरिएको छ । नयाँ दररेटमा श्रमिकको ज्याला र निर्माण सामग्रीको मूल्यमा हेरफेर गरिएको छ ।
जिल्ला दररेट निर्धारण समिति, दाङको बैठकले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि नयाँ जिल्ला दररेट निर्धारण गरेको हो । प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेका अनुसार असार २९ गते बसेको समितिको बैठकले नेपाल सरकारको आर्थिक सर्वेक्षण, राष्ट्र बैंकको मूल्य वृद्धि प्रतिवेदन तथा सरोकारवाला निकायहरूको सुझावका आधारमा नयाँ दररेट स्वीकृत गरेको हो ।
नयाँ स्वीकृत दररेट अनुसार यसपटक श्रमिकहरूको दैनिक ज्यालामा वृद्धि गरिएको छ भने निर्माण सामग्रीको मूल्यमा पनि केही परिमार्जन गरिएको छ । समितिले तय गरेको श्रमिकको नयाँ ज्यालादरमा दक्ष श्रमिक सिकमी, नकर्मी, डकर्मीको दैनिक ज्याला १ हजार १ सय कायम गरिएको छ । जुन गत आव २०८२/८३ भन्दा १ सय रुपैँयाले बढी हो ।
यस्तै अदक्ष श्रमिक कुल्ली, ज्यामी, नाइके, फोरम्यान आदिको पनि दैनिक ज्याला बढेको छ । विगतमा प्रति दिन ६७० रुपैयाँ ज्याला पाउँदै आएका अदक्ष कामदारको ज्याला बढेर अब ७२५ रुपैयाँ पुगेको हो ।
यस्तै टनेल, ब्लास्टर र गोताखोर जस्ता उच्च जोखिममा काम गर्ने दक्ष श्रमिकको ज्याला प्रति दिन १ हजार १४० रुपैयाँबाट बढाएर १ हजार २३५ रुपैयाँ तोकिएको छ । यसैगरी जोखिमपूर्ण क्षेत्रमा काम गर्ने अदक्ष कामदारको दैनिक ज्याला ८१० रुपैयाँबाट बढेर ८७५ रुपैयाँ कायम भएको छ ।
यस्तै कडा मिहिनेत गर्ने कृषि श्रमिकको ज्याला ७३५ रुपैयाँ र सामान्य मिहिनेत गर्ने कृषि श्रमिकको ज्याला ७२५ रुपैयाँ प्रति दिन तोकिएको छ । सुपरभाइजरको ज्याला प्रति दिन ७४५ रुपैयाँ र सिनियर सुपरभाइजरको ज्याला ७९० रुपैयाँ निर्धारण गरिएको छ ।
हाउस वायरिङ गर्ने इलेक्ट्रिसियनको ज्याला ७९० रुपैयाँ र दक्ष प्लम्बरको दैनिक ज्याला ७७० रुपैयाँ स्वीकृत भएको छ । नर्सरी नाइकेको मासिक ज्याला १४ हजार ३१० रुपैयाँबाट वृद्धि गरी १५ हजार ४५० रुपैयाँ बनाइएको छ ।
निर्माण सामग्रीको दररेट पनि हेरफेर गरिएको छ । शहरी तथा ग्रामीण क्षेत्रका पूर्वाधार निर्माणमा व्यापक प्रयोग हुने ढुङ्गा, गिट्टी, बालुवा र सिमेन्टको मूल्य पनि भ्याट बाहेक निर्धारण गरिएको छ । इँटा र ढुङ्गा प्रति हजार १ नं. चिम्नी इँटाको मूल्य १४ हजार ५०० रुपैयाँ र २ नं. इँटाको १० हजार रुपैयाँ कायम गरिएको छ ।
यस्तै प्रति घनमिटर ढुङ्गाको दररेट २ हजार ५० रुपैयाँ तोकिएको छ । यसैगरी क्रसर मेशिनबाट धोएको बालुवा प्रति घनमिटर १ हजार ७५० रुपैयाँ निर्धारण गरिएको छ । ओ.पि.सि. सिमेन्ट प्रति बोरा ६२० रुपैयाँ र पि.पि.सि. सिमेन्ट प्रति बोरा ५२० रुपैयाँ कायम गरिएको छ । यस्तै फलाको छड प्रतिक्विन्टल ९ हजार ५ सयदेखि ९ हजार ८०० सम्म कायम गरिएको छ ।
काठको दररेटमा गिरावट आएको छ । यस वर्ष काठतर्फ साल र अन्य केही प्रजातिका काठको प्रति घनफिट मूल्यमा भने गत वर्षको तुलनामा केही गिरावट आएको हो । गत आर्थिक वर्षमा प्रति घनफिट ५ हजार ४०० रुपैयाँ रहेको साल काठ यस वर्ष ४ हजार ८०० रुपैयाँमा झरेको छ ।
लोकल सिसौ काठ प्रति घनफिट ३ हजार ३४५ रुपैयाँबाट घटेर ३ हजार ३०० रुपैयाँ कायम भएको छ । जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत विजय गौतमका अनुसार यो दररेट साउन १ गतेदेखि जिल्लाभर सञ्चालन हुने सम्पूर्ण सरकारी तथा सार्वजनिक खरिद र विकास निर्माणका योजनाहरूमा लागू भएको छ ।



















