दाङ । दाङमा बजेट खर्च हुन नसकि फिर्ता हुने प्रवृति बितेको आर्थिक वर्षमा पनि दोहोरिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय दाङमा अनुसार बितेको आर्थिक वर्ष २०८२/२०८३ मा २ अर्ब ८ करोड २८ लाख ४० हजार २९० रुपैँया विकास बजेट फिर्ता भएको हो ।
यो कुल विकास बजेटको २५ दशमलव ५४ प्रतिशत हो । बजेट बिनियोजन हुने तर खर्च गर्न नसक्ने प्रवृतिका कारण नागरिकले विकासको अनुभूति गर्न पाएका छैनन् । विकासका लागि बिनियोजन गरेको ठुलो रकम वर्षेनि फिर्ता हुने गरेको छ ।
बितेको आर्थिक वर्षमा संघ र प्रदेश सरकारबाट दाङका लागि ८ अर्ब १५ करोड ५३ लाख १ हजार ५ सय रुपैँया पुँजीगत अर्थात विकास बजेट बिनियोजन गरिएको थियो । बिनियोजन बजेटमध्ये ६ अर्ब ७ करोड २४ लाख ६१ ह्जार २१० रुपैँयामात्रै खर्च भएको छ ।
दाङमा अघिल्लो आर्थिक वर्षको तुलनामा विकास बजेट फिर्ता हुने दर घटेपनि सन्तोषजनक भने छैन् । पछिल्ला ६ आर्थिक वर्षको तुलना गर्दा हरेक वर्ष २ अर्बभन्दा बढी बजेट खर्च हुन नसकी फिर्ता भएको देखिएको छ ।
आर्थिक वर्ष २०७७/२०७८ देखि बितेको आर्थिक वर्ष २०८२/२०८३ सम्ममा १३ अर्ब बढी बजेट फिर्ता भएको छ । बजेट बिनियोजन गर्ने तर कार्यान्वयन गर्ने प्रवृति फितलो छ ।



















