२०८३ साउन १६ गते शनिवार

खाना पकाउने ग्याँसको आपुर्ति सहज बन्दै


दाङ । खाना पकाउने एलपी ग्याँसको आपुर्ति सहज बन्दै गएको छ । नेपाल आयल निगम तुलसीपुरका प्रमुख बिनोद बस्नेतले ग्याँस आपुर्ति सहज बन्दै गएको बताउनुभयो । उहाँले आपुर्ति नियमित भएपनि माग बढ्दो भएका कारण उपभोक्तालाई ग्याँस पाउन समस्या भएको बताउनुभयो ।

केहि उपभोक्ताले स्टक राख्ने गरेका कारण पनि आपुर्ति र मागको सन्तुलन मिल्न नसकेको ग्याँस व्यवसायीको भनाई छ । दाङमा राप्ती, मनकामना र भेरीले ग्याँस आपुर्ति गरिरहेका छन् । तर मनकामना र भेरीको तुलनामा राप्तीले धेरै माग धानिरहेको नेपाल आयल निगम तुलसीपुरका प्रमुख बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार राप्तीले तुलसीपुर, घोराही र देउखुरीमा दैनिक २ हजार सिलिन्डरसम्म आपुर्ति गरेको छ । तर मनकामना र भोरीले दैनिक ७ सय सिलिन्डरसम्म आपुर्ति गरिरहेका छन् । ग्याँसको आपुर्ति नियमित भइरहेकाले केहि दिनभित्रै सहज बन्दै जाने प्रमुख बस्नेतले बताउनुभयो ।

यसैबिच नेपाल आयल निगमले ग्याँस उद्योगीहरूलाई बजारमा ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको छ । निगमले शनिबार विज्ञप्ति जारी गरेर ग्याँस उद्योगीहरूलाई बजारमा ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

‘१४.२ केजी ग्याँस सिलिण्डरको बिक्री वितरणको सुरुवातपश्चात बजारमा ग्याँस अभाव भन्ने उपभोक्ता वर्गवाट गुनासो आइरहेकोले सम्पूर्ण ग्याँस उद्योगीहरुले बजारमा ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाउन हुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

आयल निगमले बिक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्ताहरूलाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राखेर व्यवस्थित रुपमा ग्याँसको बिक्री बितरण गर्न पनि अनुरोध गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस