तुलसीपुर । उमेरले ७१ वर्ष पुगिसकेकी तुलसीपुर उपमहानगरपालिका–७ राजापुरकी चन्द्रकली थापाको आँखामा समस्या देखिएपछि चिकित्सकले शल्यक्रिया गर्न सुझाव दिएका थिए। शुक्रबार आँखाको शल्यक्रिया गर्ने तयारी थियो। त्यसका लागि आवश्यक रकम जुटाउन उनी बिहीबार तुलसीपुर बजार पुगिन्।
बजारबाट फर्किँदा थापासँग २० हजार रुपैयाँ नगद थियो। शल्यक्रियाका लागि करिब ४० हजार रुपैयाँ खर्च लाग्ने अनुमान भएकाले बाँकी रकम घरमै राखिएको थियो। दिउँसो करिब ३ बजे बजारवाट घर फर्किएकी थापा गर्मीका कारण नुहाउन थालिन्।
थापाले नुहाउँदा लगाएका कपडा नजिकै छाेपेर पैसासहितकाे झाेला राखेकी थिइन्। त्यही समयमा दुई जना युवा उनको घरमा आइपुगे। एक जनाले तिर्खा लागेको भन्दै पानी मागे। थापा पानी दिन लागेकै बेला अर्का व्यक्तिले कपडासँगै राखिएको झोला लिएर भागे । झोलाभित्र शल्यक्रियाका लागि जोहो गरिएको करिब ४० हजार रुपैयाँ, नौगेडी र मोबाइल फोन थियो।
घटना थाहा पाएपछि गाउँमा खैलाबैला मच्चियो। स्थानीयको सक्रियतामा खोजी सुरु भयो। भाग्ने क्रममा ती युवाले मोबाइल र नौगेडी घरमुनि रहेको बाँसको झाङमा फालेर गएको अवस्थामा भेटिएको थापाले बताइन्। नगद भने फेला पर्न सकेन।
आँखाको शल्यक्रियाका लागि जुटाएकाे रकम चोरी भएपछि थापा चिन्तित छिन् । गहभरि आँसु पार्दै उनले भनिन्, “आँखाको उपचारका लागि भनेर पैसा जम्मा गरेकी थिएँ, त्यही पैसा चोरी भयो।”
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तुलसीपुर-७,राजापुरकै कृष बाँठा मगर र कृष्ण नेपालीलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई घटनाको तीन दिनपछि शनिबार बिहान आफ्नै घरबाट पक्राउ गरेको हो।
एउटै घटना होइन, चोरीको श्रृंखला
राजापुर क्षेत्रमा यो चोरीको पहिलो घटना भने होइन। पछिल्लो समय यहाँ चोरीका घटना दोहोरिन थालेपछि स्थानीयमा त्रास बढेको छ।
गत असार २६ गते राजापुरकै खेमराज तिवारीको घरबाट बिहान करिब ११ बजे ४० हजार रुपैयाँ मूल्य बराबरको मोबाइल चोरी भएको थियो। तिवारीकाे घरमा पाहुना पर्न आएका उनका भिनाजुकाे मोबाइल चोरी भएपछि केही समय गाउँमा खैलाबैला मच्चियो।
चोरीको आशंका गरिएका व्यक्तिले घटना स्वीकार नगरेपछि सिसिटिभी फुटेज हेर्दा चोरीको वास्तविकता खुलेको थियो। त्यसपछि मोबाइल फिर्ता ल्याइएको थियो।
त्यसैगरी गत आइतबार राजापुरकै पुष्पा सुवेदीको घरमा कोठा भाडामा बस्दै आएकी सावित्रा डिसीको २७ हजार रुपैयाँ नगद चोरी भएको थियो। उक्त घटनामा अहिलेसम्म कुनै सुराक फेला पर्न सकेको छैन।
करिब तीन महिनाअघि राजापुरकै सरिता बोहराको घरबाट पनि नगद ३ हजार रुपैयाँ र उनकी आमाले लगाएको बुलाकी हराएको थियो। साँझ करिब साढे ७ बजे भएको उक्त घटनाको खोजतलास गरिए पनि अहिलेसम्म सामान फेला परेको छैन।
स्थानीयका अनुसार पछिल्लो समय घरभित्रको सामान मात्रै होइन, दिउँसै आँगनमा पालिएका कुखुरासमेत चोरी हुन थालेका छन्। स्थानीय शकुन्तला अधिकारीले आफूले पालेका १५ वटाभन्दा बढी कुखुरा पटक पटक गरेर चोरी भइसकेको दुखेसो पोखिन्।
चोरीले बढायो स्थानीयमा त्रास
एकपछि अर्को चोरीका घटना हुन थालेपछि राजापुर क्षेत्रका स्थानीयले सुरक्षाको विषयलाई गम्भीरतापूर्वक उठाउन थालेका छन्। चोरीका घटना रोक्न प्रहरीको नियमित गस्ती, स्थानीयको सतर्कता र शंकास्पद गतिविधिमाथि निगरानी बढाउनुपर्ने उनीहरूको माग छ। यही विषयलाई लिएर शनिबार बिहान परिवर्तनशील टोल, प्रगतिनगर टोल र मोतीपुर टोल विकास संस्थाका स्थानीय, जनप्रतिनिधि, प्रहरी तथा नागरिक अगुवाबीच छलफल गरिएको थियो।
छलफलमा सहभागीहरूले विशेषगरी रातको समयमा सुरक्षा गस्ती बढाउनुपर्ने, चोरीलगायत गलत क्रियाकलापमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिलाउनुपर्नेमा जोड दिए। पटक–पटक आपराधिक गतिविधिमा संलग्न हुने व्यक्तिलाई सामाजिक रूपमा समेत जिम्मेवार बनाउनुपर्ने आवाज उठ्यो।
सामाजिक अगुवा भरत भण्डारी र यमप्रसाद भुसालले स्थानीय नागरिकको शान्ति-सुरक्षाका विषयमा सुरक्षा प्रशासन थप चनाखो भएर काम गर्नुपर्ने बताए।
अस्थायी प्रहरी पोस्ट पर्सेनीका प्रहरी हवलदार कल्याण खत्री, तुलसीपुर उपमहानगरपालिका-७ का वडा अध्यक्ष रामबहादुर जिसीलगायतको छलफलमा सहभागिता थियो।
प्रहरी हवलदार खत्रीले आफू हालै मात्र सरुवा भएर आएको बताउँदै स्थानीयका समस्या र सुरक्षाका सवालमा आफू निरन्तर प्रतिबद्ध रहने बताए। नागरिकलाई शान्ति-सुरक्षाको प्रत्याभूति गराउनु प्रहरीको दायित्व र कर्तव्य भएको उल्लेख गर्दै उनले समस्या परे तत्काल जानकारी गराउन आग्रह गरे।
छलफलमा परिवर्तनशील टोल विकास संस्थाका अध्यक्ष लोकबहादुर ओली, प्रगतिनगर टोल विकास संस्थाका अध्यक्ष हिमु नेपाली, मोतीपुर टोल विकास संस्थाका अध्यक्ष बसन्त पौडेललगायत स्थानीयको सहभागिता थियो।
प्रहरीलाई मोटरसाइकल दिने वडाको योजना
चोरीका घटना नियन्त्रणसँगै प्रहरीको पहुँच र गस्ती प्रभावकारी बनाउन तुलसीपुर-७ वडा कार्यालयले अस्थायी प्रहरी पोस्टलाई मोटरसाइकल उपलब्ध गराउने योजना अघि सारेको छ।
वडा अध्यक्ष रामबहादुर जिसीले वडाभित्रका नागरिकको शान्ति–सुरक्षाका लागि बजेट विनियोजन गरी अस्थायी प्रहरी पोस्टलाई एक थान मोटरसाइकल उपलब्ध गराउने योजना रहेको बताए।
स्थानीयले बोलाएको समयमा तत्काल प्रहरी पुग्न नसक्ने समस्या रहेको उल्लेख गर्दै अध्यक्ष जिसीले प्रहरीको पहुँच र गस्तीलाई प्रभावकारी बनाउन मोटरसाइकल उपलब्ध गराउने योजना बनाइएको जानकारी दिए।
उनले वडाभित्रका जुनसुकै स्थानमा शंकास्पद गतिविधि देखिए तत्काल प्रहरी वा जनप्रतिनिधिलाई खबर गर्न स्थानीयलाई आग्रह गरे।
राजापुरमा पछिल्लो समय देखिएको चोरीको श्रृंखलाले एउटा प्रश्न भने गम्भीर रूपमा उठाएको छ-घरभित्र मात्रै होइन, आफ्नै आँगनमा समेत नागरिक कति सुरक्षित छन् ?
चोरी नियन्त्रणका लागि प्रहरीको सक्रियता आवश्यक छ नै, त्यससँगै स्थानीयको आपसी निगरानी, सूचना आदानप्रदान र सामुदायिक सतर्कता पनि उत्तिकै महत्वपूर्ण देखिएको छ। ज्येष्ठ नागरिकदेखि सर्वसाधारणसम्मले ढुक्क भएर बस्न सक्ने वातावरण निर्माण गर्न प्रहरी, जनप्रतिनिधि र स्थानीय समुदायबीचको सहकार्य अब विकल्पभन्दा पनि आवश्यकता बनेको छ।





















