तुलसीपुर । दाङको तुलसीपुर–७ मोतिपुरस्थित राप्ती लाइफ केयर हस्पिटल प्रालिद्वारा सञ्चालित एचए तथा नर्सिङ कलेजले प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागतसहित परिचयात्मक कार्यक्रम गरेको छ ।
कलेजमा अध्ययनरत विद्यार्थीहरूबीच एकआपसमा चिनजान गराउने र अध्ययन वातावरण सहज बनाउने उद्देश्यका साथ बुधबार परिचयात्मक कार्यक्रमको आयोजना गरिएको हो ।
राप्ती लाइफ केयर हस्पिटल प्रालिका अध्यक्ष हरिप्रसाद रिजालको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष रिजालले स्वास्थ्य क्षेत्र अन्य क्षेत्रभन्दा भिन्न, अत्यन्त संवेदनशील र पवित्र भएको बताउनुभयो ।
‘तपाईंहरूले छनोट गर्नुभएको पेशा केवल रोजगारी वा अध्ययनमा मात्र सीमित छैन, यो प्रत्यक्ष रूपमा मानव सेवासँग जोडिएको छ’ अध्यक्ष रिजालले भन्नुभयो–‘मानव जीवनको रक्षा गर्ने र दुःखमा परेका बिरामीलाई मलमपट्टी लगाउने जस्तो गरिमामय पेशा रोज्नु आफैँमा गर्वको विषय हो ।’
अध्यक्ष रिजालले कलेजको शैक्षिक गुणस्तर र विगतको नतिजाबारे पनि प्रकाश पार्नुभयो । कलेजले सैद्धान्तिक ज्ञानका साथसाथै व्यावहारिक र प्रयोगात्मक अभ्यासमा विशेष जोड दिँदै आएकाले यहाँका विद्यार्थीहरूले जहाँ पुगे पनि आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्न सफल भएको उहाँको भनाई छ ।
कार्यक्रममा अस्पतालका डाइरेक्टर द्वय दोर्ण वली र जीवन भण्डारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।






















