दाङ । तुलसीपुर–७ ग्वारखोलाकी २६ वर्षीया सिर्जना थापा रसुवाको भोटेकोसीमा आएको बाढीपछि परिवारको सम्पर्कमा छैनन् । तर उनको घरपरिवारको हरेक दिन एउटै प्रतीक्षा छ–‘सिर्जना आज आउँछिन् कि भोलि?’
बिरामी आमाको आँखाले छोरीको बाटो हेरिरहेको छ । सात वर्षका छोरा सामेल बिकलाई भने आमाको अनुपस्थितिको अर्थ अझै राम्ररी थाहा छैन। उनी आमालाई खोजिरहन्छन्। आमालाई सम्झिँदै सोध्छन्, ‘आमा कहिले आउनुहुन्छ?’ बहिनी रितासँग भने त्यसको कुनै जवाफ छैन ।
‘आमा ठूली नानी कहिले आउँछे भनेर सोध्नुहुन्छ, म के भनूँ थाहा छैन,’ रिताले भनिन्, ‘दिदी नै घरको कमाउने मान्छे हुनुहुन्थ्यो। अब हामी के खाने, के लाउने, कसरी पढ्ने र आमाको उपचार कसरी गर्ने भन्ने चिन्ताले पिरोलेको छ ।’
सिर्जना परिवारको गर्जो टार्न ज्याला मजदुरी गर्दै भारतदेखि नेपालका विभिन्न जिल्ला पुगिरहन्थिन। यसपटक भने उनी रसुवा पुगेकी थिइन् । त्यहाँ एक कम्पनीमा खाना पकाउने काम गर्थिन् । तर परिवारको जीवन धान्न रसुवा पुगेकी सिर्जना अहिले आफैँ परिवारका लागि ‘खोजीको विषय’ बनेकी छन् ।
भदौ १० गते रसुवाको भोटेकोसीमा बाढी आउनुअघिल्लो दिन बिहान रिताको दिदीसँग अन्तिम पटक फोनमा कुराकानी भएको थियो । त्यो कुराकानी नै परिवारसँगको पछिल्लो सम्पर्क हो । फोनमा दिदि सिर्जनाले ‘घरमा खानेकुरा छ कि छैन?’ भनेर बहिनीलाई सोधेकी थिइन् ।
घरमा खानेकुरा सकिएको र पैसा पनि नभएको रिताले बताएकी थिइन्। त्यसपछि दिदीले १७/१८ गतेतिर करिब ६ हजार रुपैयाँ पठाइदिने भन्दै सकिएको सामान किन्न भनेको सुनाइन्। करिब पाँच मिनेटको कुराकानीपछि उनले ‘अब मिस्त्रीहरूलाई खाना खुवाउनुपर्छ, म जान्छु’ भन्दै फोन राखेकी थिइन्। त्यसपछि सिर्जनाको फोन आएको छैन।
सिर्जनाको परिवार आर्थिक रूपमा कमजोर छ। उनकी आमा थाइराइड र क्षयरोगको औषधि नियमित खान्छिन्। श्रीमान् पनि बिरामी छन्। घरको खर्च, आमाको उपचार र छोराको पढाइ धान्ने मुख्य जिम्मेवारी सिर्जनाकै काँधमा थियो।
‘दिदी हराएपछि हाम्रो घरको चुलो मात्रै होइन, भविष्य पनि अन्योलमा परेको छ,’ रिताले भावुक हुँदै भनिन् । २ कक्षामा पढ्ने छोरा सामेल आमा सम्पर्कविहीन भएदेखि उनको ध्यान पढाइभन्दा आमाको प्रतीक्षातिर बढी छ । उनलाई आमाको अवस्था के भयो भन्ने थाहा छैन। उनको बालमनले भने एउटै कुरा खोजिरहेको छ-आमा कहिले घर फर्किनुहुन्छ?
रसुवाको बाढीले सिर्जनालाई कहाँ पु¥यायो, अथवा कतै उद्धार हुने क्रममा छिन् परिवारलाई थाहा छैन । बिरामी आमाका आँखा ढोकातिरै छन्, सात वर्षीय छोरा आमाको आवाज सुन्न चाहन्छन् र बहिनी रितासँग भने एउटै प्रार्थना छ-‘दिदी जहाँ भए पनि सकुशल फर्किनुहोला।’






















