दाङ । भोटेकोसी नदीमा आएको बाढीपछि बेपत्ता भएका तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुरका युवा जनक शाहको खोजी कार्यका लागि वडा कार्यालयले आर्थिक सहयोग गरेको छ ।
बेपत्ता शाहका बुवा हरिबहादुर शाहलाई खोजी तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले वडाको तर्फबाट नगद १५ हजार सहयोग प्रदान गरिएको वडा अध्यक्ष मान बहादुर रावतले जानकारी दिनुभयो ।
जेसिबी चालक शाहको शीघ्र खोजी तथा उद्धारको लागि स्थानीय प्रशासन र सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको वडा अध्यक्ष रावतले जानकारी दिनुभयो ।
सहयोग रकम बुझ्दै बेपत्ता जनकका बुवा हरिबहादुर शाहले वडा कार्यालयले देखाएको यो अभिभावकत्व र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै छोराको खोजी कार्यमा थप पहल गरिदिन सबैसमक्ष आग्रह गर्नुभयो ।



























