तुलसीपुर । मुलुकमा आइपरेको विपद्को यो कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्व वहन गर्दै रोटरी क्लब अफ तुलसीपुर सिटीले आर्थिक सहयोग गरेको छ ।
तुलसीपुर सिटीले ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १ लाख ११ हजार १११ सहयोग रकम जम्मा गरेको हो ।
विपद्का कारण प्रभावित नागरिकहरूलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने हेतुले क्लबका सदस्यहरूको तर्फबाट उक्त रकम कोषको आधिकारिक खातामा जम्मा गरिएको हो ।
सहयोग रकम हस्तान्तरण/जम्मा गरेपश्चात् क्लबले दुःखको यो घडी चाँडै टरेर जाओस् भन्ने कामना गर्दै विपद्को सामना गर्न सबैलाई धैर्य र साहस मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेको छ ।
स्थापनाकालदेखि नै विभिन्न सामाजिक तथा मानवीय सेवामा निरन्तर सक्रिय रहँदै आएको रोटरी क्लब अफ तुलसीपुर सिटीले विपद्को यस संवेदनशील समयमा पनि आफ्नो सामाजिक दायित्वलाई प्राथमिकतामा राखेर यो पहल गरेको हो ।
आगामी दिनहरूमा पनि समाजप्रति उत्तरदायी भई यस्ता मानवीय तथा सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता क्लबले व्यक्त गरेको छ ।

























