२०८३ असोज २१ गते बुधवार

सामुदायिक वनमा लुकाइछिपाई राखिएका भरुवा बन्दुक बरामद

सल्यान। सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका दुई वटा सामुदायिक वनमा लुकाइछिपाई राखिएको अवस्थामा प्रहरीले ८ नाल भरुवा बन्दुक बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले बिहिबार बिहान वन क्षेत्रमा खोजतलास गर्ने क्रममा बन्दुक फेला पारेको हो ।

प्रहरीका अनुसार बनगाड कुपिण्डे नगरपालिका–७ स्थित सल्लेरी सामुदायिक वनको ओडारमा लुकाइछिपाई राखिएका ४ नाल भरुवा बन्दुक बरामद गरिएको छ । यस्तै वडा नम्बर १२ स्थित निगालचुला भदाले सामुदायिक वनको ओडारबाट थप ४ नाल भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

दुवै सामुदायिक वनका ओडारमा लुकाइछिपाई राखिएको अवस्थामा फेला परेका बन्दुकहरू प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । बन्दुकहरू कसले, कुन प्रयोजनका लागि र कति समयदेखि वनमा लुकाएर राखेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले बरामद भएका भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस