२०८३ कार्तिक १९ गते बिहिवार

अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा ज्ञानज्योतिकी अर्चना प्रथम

तुलसीपुर । तुलसीपुर नगर जेसीजले संचालन गरेको अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा ज्ञानज्योति माविका अर्चना सुवेदी प्रथम हुनुभएको छ ।

‘आजको युवा, भोलिको नेतृत्व’ विषयमा आयोजित प्रतियोगितामा माध्यमिक विद्यालय दोघरेकी सन्ध्या नेपाली द्वितीय र मेरिगोल्ड इङ्लिस स्कुलकी बिपिका केसी तृतीय हुनुभएको छ ।

तुलसीपुरका १९ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने सुवेदीले नगद दुई हजार पाँच सय रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ। यस्तै, द्वितीय हुने नेपालीले एक हजार पाँच सय र तृतीय हुने केसीले एक हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

तुलसीपुर नगर जेसीजका अध्यक्ष कमलप्रकाश शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथ भण्डारीले आजका युवाहरू नै भोलिको देशको नेतृत्वकर्ता भएकाले उनीहरूको क्षमता विकासमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले वक्तृत्वकला जस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र सिर्जनशील सोचको विकास गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

यस्तै ज्ञानज्योति माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक मनोज केसीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप पनि आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्व अध्यक्ष झरेन्द्र खरेल , मोहोन सुनार लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगिताको प्रमुख निर्णायकमा तुलसीपुर नगर जेसीजका पूर्वअध्यक्ष झरेन्द्र खरेल र निर्णायकमा तुलसीपुर उपमहानगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख माधव पौडेल रहनुभएको थियो ।

युवाहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने सीपको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रमको सहजिकरण महासचिव झग्गुप्रसाद सापकोटा गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस