२०८३ कार्तिक १९ गते बिहिवार

दिव्य कुञ्ज एकेडेमीमा क्याम्प फायर


तुलसीपुर। विद्यार्थीमा सामूहिक भावना, अनुशासन, नेतृत्व क्षमता र व्यावहारिक ज्ञानको विकास गर्ने उद्देश्यले दिव्य कुञ्ज एकेडेमी तुलसीपुर-७, दाङमा सञ्चालित दिव्य कुञ्ज स्काउट दलको तीनदिने आवासीय क्याम्प जारी छ । क्याम्पकाे दाेस्राे दिन शनिवार राति फायर क्याम्प गरिएकाे छ ।


क्याम्पमा स्काउटमार्फत विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी जीवनोपयोगी सीप, आत्मनिर्भरता, सामूहिक सहकार्य र सेवाभाव सिकाउने लक्ष्यसहित कार्यक्रमकाे आयाेजना गरिएकाे हाे ।

स्काउटको मूल मन्त्र नै सेवा भएकाले विद्यार्थीले आफ्नो जिम्मेवारी आफैँ पूरा गर्ने, समयको महत्त्व बुझ्ने, नेतृत्व गर्ने र समूहमा मिलेर काम गर्ने अभ्यास गर्नेछन्।

विद्यालयका प्रधानाध्यापक कुलानन्द अधिकारीको अध्यक्षता तथा सञ्चालक समिति अध्यक्ष वीरबहादुर भण्डारी (मोहन) को प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले विद्यार्थी र अभिभावकको पूर्ण सन्तुष्टि, समयसापेक्ष ज्ञान तथा शिक्षक-कर्मचारीको सुरक्षित भविष्य सुनिश्चित गर्दै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा विद्यालय केन्द्रित रहेको बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले आवासीय क्याम्पले विद्यार्थीमा एकता, अनुशासन, सहयोग र सामूहिक भावनाको विकास गर्ने बताउनुभयो।

सँगै बस्ने, सँगै खाने र समूहमा काम गर्ने अभ्यासले असल नागरिक बन्न सहयोग पुग्ने उहाँको भनाइ थियो। उहाँले पछिल्लो समय विद्यार्थी डिजिटल माध्यममा बढी रमाउने गरेको उल्लेख गर्दै मोबाइललाई शैक्षिक प्रयोजनमा मात्र प्रयोग गर्न, गलत साथीको सङ्गतबाट टाढा रहन तथा सामाजिक अपराध र लागुऔषध दुर्व्यसनबाट जोगिन आग्रह गर्नुभयो। मोबाइलमार्फत हुने ठगी तथा साइबर अपराध बढ्दै गएकाले विद्यार्थी र अभिभावक दुवैलाई सचेत रहन उहाँले अनुरोध गर्नुभयो।


कार्यक्रममा पत्रकार नारायण खड्काले सिकाइको महत्त्वमाथि प्रकाश पार्दै विद्यार्थीलाई सामाजिक सञ्जालको प्रयोग कम गरी अध्ययनमा बढी ध्यान दिन आग्रह गर्नुभयो। यस्ता कार्यक्रमले किताबी ज्ञानसँगै जीवनमा आवश्यक व्यवहारिक ज्ञान प्राप्त गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।


क्याम्प प्रमुख अञ्जली शाहले यसलाई विद्यार्थीको पहिलो मित्रता क्याम्पका रूपमा उल्लेख गर्दै शुक्रबारदेखि नै विद्यार्थी विद्यालयमा आवासीय रूपमा बसिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार दुई रात र तीन दिनसम्म सञ्चालन हुने क्याम्पमा विभिन्न गतिविधिसँगै क्याम्प फायरको विशेष महत्त्वबारे पनि विद्यार्थीलाई सिकाइएकाे हाे ।

क्याम्पको दोस्रो रात आयोजना गरिने क्याम्प फायरले एकता र सामूहिक शक्तिको सन्देश दिने उहाँले बताउनुभयो। एउटा झिल्काले मात्र पर्याप्त ताप दिन नसके पनि धेरै झिल्का एकै ठाउँमा मिल्दा न्यानोपन प्राप्त हुने उदाहरण दिँदै उहाँले एकताको महत्त्व बुझाउनुभयो। उहाँले क्याम्पलाई अन्धकारबाट उज्यालोतर्फ र निराशाबाट आशातर्फ अघि बढ्ने यात्राका रूपमा समेत व्याख्या गर्नुभयो।


चलचित्र पत्रकार संघ दाङका अध्यक्ष निरला अर्यालले सामूहिक भावनाको विकास र व्यावहारिक ज्ञानका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो।

सहायक प्रधानाध्यापक धिरज केसीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमको सहजीकरण शिक्षक सरला श्रेष्ठले गर्नुभएको थियो भने प्रधानाध्यापक कुलानन्द अधिकारीले सहभागी अतिथि तथा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
शुक्रबारदेखि सुरु भएको उक्त तीनदिने आवासीय क्याम्प आइतबार समापन गरिने विद्यालयले जनाएको छ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस