रोल्पा । तिहारको मुखैमा रोल्पामा यात्रुबहाक बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । दार्बोट–माडिचौर सडकखण्ड अन्तर्गत रोल्पा नगरपालिका वडा नं. ६ कुटिवाङस्थित बा.प्र.०६००१ ख ०००९ नम्बरको बस दुर्घटना भएको हो ।
आइतबार दिउँसो भएको दुर्घटनामा १३ जना घाईते भएको भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । प्रहरीका अनुसार बसको ब्रेक फेल भई अनियन्त्रित भएर बाटोको बाँया पट्टि पल्टिएको छ ।
दुर्घटनामा बस चालक रोल्पाको माडी गाउँपालिका–५ का ३८ वर्षि लिला घर्ति, माडि गाउँपालिका–१ का ५० वर्षिय बिष्णु बुढा मगर, सोही ठाउँका ६८ वर्षिय मन बहादुर बिक, ५० वर्षका देव सिंह खड्का, ६३ वर्षिय लाल सिंह बुढा, २७ वर्षिय सुरेश बुढा मगर, २१ वर्षकी कल्पना घर्तिमगर घाइते हुनुभएको छ ।
यस्तै सोहि ठाउँकै १७ वर्षिय पर्मिला घर्ती, १३ वर्षका राजन वली, माडी–२ का ४५ वर्षिय खेम बिकास घर्ती, २४ वर्षका पासाङ घर्ती, १८ वर्षका बिक्रम परियार र दाङको घोराही उपमहानगरपालिका–२ की १५ वर्षिय पार्वती सार्की घाइते हुनुभएको छ । घाइतेलाई रोल्पा अस्पताल रेउघामा लगिएको प्रहरीले जनाएको छ ।


























