दाङ। दाङको घोराहीस्थित सिँचाइ ड्याममा नुहाउने क्रममा एक युवक डुबेर बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–१० अर्घुस्थित सिँचाइ ड्याममा बिहिबार दिउँसो नुहाउने क्रममा २३ वर्षीय अनुप चौधरी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१२ बेलघार घर भएका चौधरी आफ्ना मामा आसाराम चौधरीको घरमा आएका बेला घटना भएको हो । चौधरी कात्तिक २५ गते मामाको घरमा आएको र बिहिबार ड्याममा नुहाउने क्रममा डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
बिहिबार दिउँसो करिब साढे २ बजे ड्याममा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । बेपत्ता चौधरीको खोजी कार्यमा इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरी टोली, नेपाली सेनाको ज्वालादल गण भरतपुर दाङ र सशस्त्र प्रहरी बल तुलसीपुरबाट खटिएको टोली परिचालित भएको प्रहरीले जनाएको छ ।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, आफन्त तथा स्थानीयवासीको सहयोगमा उनको खोजी कार्य जारी रहेको छ ।


























