२०८३ बैशाख ८ गते मङ्गलवार

अब तुलसीपुरमै कपाल प्रत्यारोपण सेवा


तुलसीपुर । दाङको तुलसीपुरमा पहिलो पटक अत्याधुनिक प्रविधिसहितको कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) सेवा सुरु भएको छ ।

स्थानीय युवा उद्यमी राजेन्द्र महतरा र घोराहीका औषधि व्यवसायी अविनाश विष्टको संयुक्त लगानीमा ‘कायरा स्किन एण्ड हेयर क्लिनिक’ सञ्चालनमा आएको हो ।

झन्डै ७० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको यस क्लिनिकले जिल्लामै पहिलो पटक कपाल रोप्ने सेवा भित्र्याएको हो ।

तुलसीपुर उपमहानगरपालिकास्थित ’द पार्क क्याफे’ को ठीक सामुन्ने पश्चिम दिशामा स्थापना गरिएको क्लिनिकको सोमबार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले उद्घाटन गर्नुभयो ।

उद्घाटनका क्रममा अध्यक्ष केसीले स्थानीयस्तरमै नयाँ प्रविधिको व्यवसाय सुरु हुनु खुसीको कुरा भएको बताउँदै युवाहरूले रोजगारी सिर्जनामा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले व्यापारिक लाभसँगै गुणस्तरीय सेवामार्फत ग्राहकको मन जित्न सञ्चालकहरूलाई सुझाव समेत दिनुभयो ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष देवबहादुर केसी, महासचिव केशवराज केसी र नेपाली कांग्रेस तुलसीपुरका नगर सभापति सुरेश हमाल लगायतका वक्ताहरूले कपाल र छाला सम्बन्धी उपचारका लागि बाहिर जानुपर्ने बाध्यता अब अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँहरूले तुलसीपुरको व्यावसायिक विकासमा यो एउटा नयाँ इँटा थपिएको बताउनुभयो ।

नयाँ सेवा सुरु भएको अवसरमा क्लिनिकले सुरुवाती तीन दिनसम्म छाला सम्बन्धी परीक्षण निःशुल्क गर्ने घोषणा गरेको छ । क्लिनिकमा कपाल प्रत्यारोपणका साथै छालाका विभिन्न रोगहरूको उपचार, हाइड्रा फेसियल, अनुहारको चायाँ–पोतो र दाग हटाउने लगायतका आधुनिक सौन्दर्य सेवाहरू उपलब्ध हुने सञ्चालक राजेन्द्र महतराले जानकारी दिनुभयो ।

स्थानीयस्तरमै दक्ष प्राविधिकबाट सेवा प्रदान गरिने भएकाले यस क्षेत्रका नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस