दाङ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाबाट प्रहरीले अवैध रूपमा भारतबाट ल्याइएका माछाका भुरा र ब्रोइलर कुखुरा नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ र १५ का सीमावर्ती क्षेत्रहरूबाट उक्त अवैध सामग्री बरामद गरेको हो ।
माछाका भुरा १५०० वटा र ब्रोइलर कुखुरा ६० वटा बरामद गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । भन्सार छली र क्वारेन्टाइन प्रक्रिया पूरा नगरी लुकिछिपी नेपाल भित्र्याइएका ती माछा र कुखुरालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगन्ज, बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।
नेपाल–भारत सीमा क्षेत्रबाट हुने यस्ता अवैध चोरी पैठारीले स्वदेशी किसानहरू मर्कामा पर्नुका साथै स्वास्थ्य परीक्षण नगरिएका पशुपन्छीजन्य वस्तुले रोगको जोखिम समेत बढाउने भन्दै प्रहरीले निगरानीमा कडाइ गरेको छ ।
















