२०८३ जेष्ठ ४ गते सोमवार

महिलाहरू व्यवसायमा जोडिदै, २५ लाख बढी लागतमा संचालनमा आयो एचएम द व्युटी सलोन एण्ड एकेडेमी

दाङ । पछिल्लो समय महिलाहरू व्यवसायका माध्यमबाट आर्थिक रूपमा आत्मनिर्भर बन्न थालेका छन् । व्यवसायमा आफुमात्र नभई अरुलाई पनि रोजगारी दिनेगरी दाङको तुलसीपुरमा दुई जना महिला उद्यमीले संयुक्त रूपमा २५ लाख रुपैयाँभन्दा बढीको लगानीमा ‘एच एम द व्युटी सलोन एण्ड एकेडेमी’ सञ्चालनमा ल्याएका छन् ।

रोल्पाकी हिरादेवी रोका मगर र तुलसीपुरकी माया केसीले साझेदारीमा उक्त एकेडेमी सञ्चालनमा ल्याउनुभएको हो । तुलसीपुरको मुख्य व्यापारिक केन्द्र वीरेन्द्र चोकमा स्थापना गरिएको यस एकेडेमीले व्युटी पार्लर सम्बन्धी व्यावसायिक र सीपमूलक तालिमहरू प्रदान गर्नेछ ।

एकेडेमीको सोमबार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले औपचारिक उद्घाटन गर्नुभएको हो । उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष केसीले विगतमा पुरुषहरू मात्र व्यवसायमा बढी सक्रिय हुने गरेकोमा पछिल्लो समय महिलाहरूको व्यावसायिक सहभागिता उत्साहजनक रूपमा बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो ।

‘जीवनस्तरलाई सहज र समृद्ध बनाउन अब परिवारका सदस्यहरू स्वरोजगार र व्यवसायमा जोडिनु अपरिहार्य भइसकेको छ’ उहाँले भन्नुभयो ।

विगत १० वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा कार्यरत व्युटिसियन हिरादेवी रोका मगरले आफ्नो लामो अनुभवलाई सदुपयोग गर्दै अरूलाई पनि रोजगारी र सीप दिने उद्देश्यले यो व्यवसाय सुरु गरेको बताउनुभयो । एकेडेमीले महिलाहरूलाई सीपयुक्त बनाई आत्मनिर्भर बन्न थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस