२०८३ जेष्ठ १६ गते शनिवार

आगामी वर्षको बजेटमा मदिरा व्यवसायी उत्साहित


दाङ । राप्ती अञ्चल लिकर्स एसोसिएसनको १८ औं साधारणसभा तथा नवौँ अधिवेशन शनिबार दाङको तुलसीपुरमा सम्पन्न भएको छ । एसोसिएसनका अध्यक्ष तेज बहादुर पौडेल ‘विश्व’को अध्यक्षता तथा नेपाल मदिरा व्यवसायी संघका केन्द्रीय सल्लाहकार गिरीराज पौडेलको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन सत्र भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरूले राज्य र समाजले मदिरा व्यवसायीलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको भन्दै गुनासो पोखेका छन् । उनिहरुले देशको अर्थतन्त्र र राजस्वमा ठूलो योगदान पुर्‍याउँदा समेत आफूहरूलाई हेयको दृष्टिले हेरिने परिपाटी अन्त्य हुनुपर्ने माग राखेका छन् ।

तर व्यवसायीहरूले नेपाल सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटप्रति भने सकारात्मक प्रतिक्रिया दिएका छन् । यस पटकको बजेटले निजी क्षेत्र र व्यवसायीहरूलाई उत्साहित बनाउने खालका कार्यक्रमहरू समेटेको उनीहरूको भनाइ छ ।

अधिवेशनको उद्घाटन सत्रमा संस्थाका कोषाध्यक्ष राधेश केसीले आर्थिक प्रतिवेदन र महासचिव हिमाल न्यौपानेले सांगठनिक प्रगति प्रतिवेदन पेश गर्नुभएको हो ।

कार्यक्रममा लिकर्स एसोसिएसनका सल्लाहकार टंकसिंह बुढाथोकी, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, तुलसीपुर होटेल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत, कपिलवस्तु होटेल व्यवसायी समितिका अध्यक्ष कुलचन्द सिग्देल, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य कमल डिसी लगायतले आ–आफ्नो मन्तव्य राख्दै नयाँ नेतृत्व र संस्थाको सुदृढीकरणका लागि शुभकामना व्यक्त गर्नुभएको हो ।

एसोसिएसनका उपाध्यक्ष लोकेन्द्र खड्काको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण महासचिव हिमाल न्यौपानेले गर्नुभएको हो । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस