२०८३ जेष्ठ २२ गते शुक्रवार

दाङसहित १४ जिल्लामा आगामी तीन दिन तातो हावाको लहर चल्ने सम्भावना


दाङ । दाङसहित लुम्बिनी र मधेस प्रदेशका १४ जिल्लामा आगामी तीन दिन मध्यम तातो हावाको लहर (हीटवेभ) चल्ने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले हिजो बिहीबार विशेष बुलेटिन जारी गर्दै दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका बासिन्दालाई गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।

महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, चितवन, सुनसरी, मोरङ र झापालगायतका तराई क्षेत्रका जिल्लामा पनि तापक्रम बढ्ने सम्भावना रहेकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहर (हीट वेभ) तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनेलगायत लक्षण देखिन सक्ने भएकाले त्यसबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ ।

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाम लागेको समयमा घरबाहिर ननिस्कन, बाहिर जानुपरे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न, हल्का रङका खुकुला कपडा लगाउन, प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा तथा स्वास्थ्यकर खाना खान सुझाव दिएको छ ।

साथै खेतबारी तथा अरुबाहिरी काम बिहान वा साँझको चिसो समयमा गर्न, बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिए नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ । शैक्षिक संस्थाहरूलाई समेत आवश्यकताअनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस