२०८३ असार १० गते बुधवार

लमही वडा नं. ९ मा ४ दिने लेखा व्यवस्थापन तालिम

लमही । लमही नगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोग तथा ’सामाजिक रुपान्तरणका लागि हाम्रो अभियान’ दाङको आयोजनामा आजदेखि ४ दिने लेखा व्यवस्थापन तालिम सुरु भएको छ ।

सरकारको ‘गरिबसँग विश्वेश्वर कार्यक्रम’ अन्तर्गत वडा नं. ९ का समूह सदस्य तथा टोल विकास संस्थाका पदाधिकारीहरूका लागि यो तालिम आयोजना गरिएको हो ।

संस्थाका अध्यक्ष भिम विश्वकर्माको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन कार्यक्रम भएको हो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं वडा अध्यक्ष भेष बहादुर केसीले टोल विकास संस्था र स्थानीय समूहहरूमा आर्थिक पारदर्शीता र चुस्त लेखा प्रणालीको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।

संस्थाका कोषाध्यक्ष जितलाल चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा सदस्यहरू अम्मर बहादुर ओली, ईश्वरा पछाई, गणेश कुमाल, पवित्रा विक र वडा सचिव गंगा कुमारी ओली लगायतका वक्ताहरूले आफ्नो धारणा राख्नुभएको हो ।

४ दिनसम्म चल्ने उक्त तालिमको प्रशिक्षकमा किरण विश्वकर्मा रहनुभएको छ । तालिममा स्थानीय समूह र टोल विकास संस्थाका गरी जम्मा ३० जना सहभागीहरूको उपस्थिति रहेको छ । कार्यक्रमको सञ्चालन सन्तोष चनाराले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस