रोल्पा । रोल्पाको थवाङमा दुई दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर संचालन गरिएको छ । संजीवनी टिचिङ हस्पिटल घोराही, दाङ र थवाङ गाउँपालिकाको संयुक्त आयोजनामा थवाङ आधारभूत अस्पताल झकेबाङमा असार ४ र ५ गते उक्त सिविर सञ्चालन गरिएको हो ।
दुई दिनसम्म चलेको सो सिविरबाट ७ सय जनाभन्दा बढी स्थानीय नागरिक लाभान्वित भएका छन् । शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसुती, शिशु तथा बालरोग, नाक–कान–घाँटी, र रेडियोग्राफी लगायतका विशेषज्ञ चिकित्सकहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श सेवा प्रदान गर्नुभएको थियो ।
थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरले अस्पतालको सहज पहुँच नभएका आम नागरिकले आफ्नै गाउँघरमा निःशुल्क विशेषज्ञ सेवा, आवश्यक औषधि, भिडियो एक्सरे तथा ल्याब परीक्षणसहितको उपचार पाउनु अत्यन्तै खुसीको कुरा भएको बताउनुभयो ।
त्यस्तै, संजीवनी टिचिङ हस्पिटलका मेडिकल डाइरेक्टर डा. बाचसपति सुवेदीले सिविर सञ्चालनमा सहकार्य गरेकोमा थवाङ गाउँपालिका, स्वास्थ्य शाखा लगायत सम्पूर्ण सहयोगी टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
अस्पतालका व्यवस्थापक सहप्राध्यापक मदन प्रसाद पन्थीले रोगको प्रारम्भिक पहिचान, स्वास्थ्य सचेतना अभिवृद्धि र विशेषज्ञ सेवाको पहुँच विस्तार गर्नु नै सिविरको मुख्य लक्ष्य रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार सिविरमा आउने नागरिकका लागि ल्याब परीक्षण, औषधि वितरण र भिडियो एक्स–रे लगायतका सेवा पूर्ण रूपमा निःशुल्क गरिएको थियो ।
साथै, सिविरमा उपचार गराएका बिरामीहरूलाई थप उपचारका लागि घोराहीस्थित संजीवनी अस्पताल आउनुपरेमा व्यवस्थापनको तर्फबाट २० प्रतिशतसम्म छुट दिइने घोषणा समेत उहाँले गर्नुभयो ।
दूरदराजका गाउँबाट आएर सेवा लिएका स्थानीय सेवाग्राहीहरूले डाक्टरहरूको जाँच र परामर्शप्रति पूर्ण सन्तुष्टि व्यक्त गरेका छन् । गाउँमै भिडियो एक्सरे, ल्याब टेस्ट र औषधि समेत निःशुल्क पाउँदा उनीहरूले आयोजक टोलीप्रति विशेष आभार प्रकट गरे ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर पुनले सञ्चालन गर्नुभएको उद्घाटन सत्रपछि दोस्रो दिन समापन कार्यक्रम समेत सम्पन्न भएको छ ।
समापनका अवसरमा गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढामगर, स्वास्थ्य शाखा प्रमुख तुलबहादुर पुन र नेपाल मगर संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष एवं रोल्पाली सेवा समाजका संरक्षक दर्जित रोका मगरले अस्पताल व्यवस्थापनप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँहरूले आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमहरूमा गाउँपालिका सधैँ सहकार्य गर्न तत्पर रहने प्रतिबद्धता जनाउनुभयो ।
स्वास्थ्य शिविरलाई सफल बनाउन वडा अध्यक्षहरू, पालिका तथा स्वास्थ्य शाखाका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयम्सेविकाहरू र सुरक्षाकर्मीहरूले सक्रिय सहयोग पुर्याएका थिए ।

















