दाङ । दाङसहित पश्चिम नेपालमा केहिदिनदेखि अत्याधिक गर्मी बढेको छ ।
गर्मीका कारण जनजीवन प्रभावित बन्दै गएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा आज पनि तातो हावा चल्ने सम्भावना कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गर्मी बढ्दै गएपछि विद्यालयमा बालबालिकाको पठनपाठन प्रभावित बनेको छ भने दैनिक ज्याला मजदुरी गर्ने श्रमिक बढी मारमा परेका छन् । असारको मध्यसाता हुनै लाग्दा पानी नपरेपछि किसान चिन्तित बनेका छन् ।
किसानको खेतबारीमा खेतीपातीसमेत सुक्न थालेको छ ।
गर्मीले पानीका मुहानसमेत सुक्न थालेका छन् ।
आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तापक्रम बढेर तातो दिन हुने सम्भावना रहेको छ ।
दाङको अधिकतम तापक्रम ३७ डिग्री सेल्सीयस पुगेको छ ।

















