२०८३ साउन ११ गते सोमवार

तुलसीपुर–२ मा सुत्केरी आमा तथा नवजात शिशुलाई पोषण सामग्री वितरण


दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. २ ले सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य र पोषण सुधार गर्ने उद्देश्यले पोषण सामग्री वितरण गरेको छ ।

वडा नं. २ की महिला वडा सदस्य माया सुनारको अध्यक्षता तथा वडा अध्यक्ष भीमबहादुर योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा महिला वडा सदस्य हुमा घर्ती, मोहनलाल डाँगी, गोबर्दन खत्री तथा आधारभूत स्वास्थ्य चौकी तकियापुरका प्रमुख रामसिङ चौधरीको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रम अन्तर्गत वडा नं. २ का झण्डै ५७ जना सुत्केरी आमा तथा नवजात शिशुका परिवारलाई पोषण सामग्री स्वरूप १ केजी घिउ र १ केजी मह वितरण गरिएको हो ।

वडा अध्यक्ष भिम योगीले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यलाई स्थानीय सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै सुत्केरी आमाको स्वास्थ्य सुदृढ गर्न तथा नवजात शिशुको उचित पोषणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

उहाँले यस्ता जनमुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो । उहाँले स्वस्थ आमा र स्वस्थ शिशु नै समृद्ध समाज निर्माणको आधार भएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रमको सञ्चालन वडा सचिव सन्तोष न्यौपानेले गर्नुभएको हो । कार्यक्रममा सहभागीहरूले स्थानीय सरकारबाट सञ्चालन गरिएका यस्ता स्वास्थ्य तथा पोषण प्रवद्र्धन कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न आग्रह गरेका छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस