दाङ। सल्यानका बिशाल रावलले विदेशमा सिकेको सिपलाई स्वदेशमै सदुपयोग गर्दै कस्मेटिक क्षेत्रमा लगानी विस्तार गर्नुभएको छ ।
छत्रेश्वरी गाउँपालिका–७ निवासी रावलले सन् २०२१ (२०७८ साल) मा दुबईमा कस्मेटिक सम्बन्धी एक वर्षसम्म विशेष सिप सिकेर नेपाल फर्किएपछि यो क्षेत्रमा लगानी सुरु गर्नुभएको हो ।
यसैक्रममा रावलले दाङको तुलसीपुरमा आफ्नी भान्जी सुमा बुढाथोकीसँगको सहकार्यमा ‘फेदर व्युटी लक्स’ को तेस्रो शाखा विस्तार गर्नुभएको छ । तुलसीपुरको ‘ङ’ लाइनमा करिब १ करोड रुपैयाँको लागतमा स्थापना गरिएको उक्त अत्याधुनिक व्युटी लक्स बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

विगतमा दुबईमा सिकेको सिप र अनुभवलाई आफ्नै देशमा प्रयोग गर्दै अन्य नागरिकलाई समेत रोजगारी दिने उद्देश्यले यो व्यवसायमा लगानी गरेको सञ्चालक रावलले बताउनुभयो ।
यसअघि सङ्घीय राजधानी काठमाडौँमा दुई वटा शाखाहरू सफलतापूर्वक सञ्चालन गरिसकेपछि ग्राहकहरूको सकारात्मक प्रतिक्रिया र उत्साहका कारण तुलसीपुरमा तेस्रो शाखा खोल्न उत्प्रेरित भएको उहाँको भनाइ छ ।
तेस्रो शाखाको उद्घाटन बिहीबार तुलसीपुर चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काले गर्नुभएको हो । उद्घाटनका क्रममा प्रमुख अतिथि खड्काले मामा–भान्जीको संयुक्त लगानी र सहकार्यमा सञ्चालनमा आएको फेदर व्युटी लक्सले स्थानीय उपभोक्तालाई गुणस्तरीय सेवा र सन्तुष्टि मात्र दिने नभई स्थानीय स्तरमै रोजगारीका अवसरहरू समेत सिर्जना गरेको भन्दै प्रशंसा गर्नुभयो ।
उद्घाटन समारोहमा स्थानीय क्षेत्रका प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सञ्चालक रावलकी धर्मपत्नी गंगा मल्ल रावलका अनुसार यस शाखाबाट उच्च स्तरीय कस्मेटिक सामानको बिक्री–वितरणका साथै व्यावसायिक ब्युटी पार्लर र ब्युटिसियन सम्बन्धी विशेष तालिम (ट्रेनिङ) समेत सञ्चालन गरिने छ ।



















