२०८३ कार्तिक २० गते शुक्रवार

कर्णाली विकास बैंकका बचतकर्ताले १८ महिनादेखि पाएनन् रकम : दवाव दिन तुलसीपुरबाट नेपालगञ्ज जाँदै

दाङ । कर्णाली विकास डेभलपमेन्ट बैंकमा जम्मा गरेको निक्षेप विगत १८ महिनादेखि फिर्ता नपाएको भन्दै बचतकर्ताहरूले गुनासो गरेका छन् । बैंकका १९ वटा शाखा कार्यालयमार्फत जम्मा गरिएको रकम पाउन छाडेपछि आजित भएका निक्षेपकर्ताहरू संगठित भएर दबाबमूलक आन्दोलनमा उत्रिएका छन् ।

लामो समयसम्म धाउँदा पनि आफ्नो बचत रकम फिर्ता नभएपछि कर्णाली विकास डेभलपमेन्ट बैंक पीडित सङ्घर्ष समितिले बैंकको केन्द्रीय कार्यालय नेपालगञ्ज (बाँके) मा दबाब सिर्जना गर्ने कार्यक्रम तय गरेको छ ।

दवावमूलक कार्यक्रमका लागि दाङको तुलसीपुर क्षेत्रका पीडितहरू आज बिहानै नेपालगञ्जतर्फ प्रस्थान गरेका छन् । निर्मल बस्नेतको अगुवाइमा करिब ४० जना पीडित बचतकर्ताहरू तीन वटा ईभी गाडी रिजर्भ गरी नेपालगञ्ज पुग्न लागेका हुन् ।

विगत डेढ वर्षदेखि पटक–पटक ताकेता गर्दा पनि बचत फिर्ता नभएको गुनासो गर्दै निक्षेपकर्ताहरूले केन्द्रीय कार्यालयमै पुगेर सञ्चालक समिति र व्यवस्थापन पक्षलाई कडा दबाब दिने बताएका छन् । विभिन्न शाखाका पीडितहरूलाई केन्द्रीय कार्यालयमा भेला गराई निक्षेप अविलम्ब फिर्ता गराउने वातावरण बनाउन सङ्घर्ष समितिले माग गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस