२०८३ साउन २२ गते शुक्रवार

तुलसीपुरमा उद्यमशीलता संवाद

दाङ । अन्तर्राष्ट्रिय युवा दिवस-२०२६ को अवसरमा शुक्रबार तुलसीपुरमा युवा उद्यमशीलता प्रवर्द्धन प्रशिक्षण तथा सफल युवा उद्यमीहरूसँग प्रेरणादायी अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नगर युवा परिषद्, तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा ग्रीन फाउन्डेसन नेपाल र तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा सफल युवा उद्यमीहरूले आफ्नो संघर्ष, अनुभव र सफलताका कथा सहभागीहरूसँग राखेका थिए।

कार्यक्रममा रानी केकका सीईओ दीपक काफ्लेले उद्यम सञ्चालनका लागि आफूले गरेको संघर्षबारे जानकारी गराउनुभएको थियो। उद्यम गर्ने रहर भए पनि आर्थिक अभावका कारण सुरु गर्नुअघि वैदेशिक रोजगारीका लागि कतार गएको र त्यहाँ लामो समय काम गरेपछि स्वदेश फर्केर थुप्रै व्यवसाय सञ्चालन गरेको बताउनुभयो। धेरै क्षेत्रमा असफलता हुँदाहुँदै पनि निरन्तर यही कर्ममा लागिरहनुभएका काफ्लेले रानी केकलाई दाङमा भित्र्याउनुभएको थियो। रानी केकले हाल दाङको तुलसीपुर र घोराहीसहित बाँके, सुर्खेत र कपिलवस्तु गरी चार जिल्लामा सेवा विस्तार गरेको छ। अब केही दिनमै चितवनमा रानी केकको नयाँ शाखा सञ्चालनको तयारी भइरहेको काफ्लेले जानकारी दिनुभयो।

त्यसैगरी डिलाइट ग्रुपका सीईओ वीरबहादुर भण्डारी (मोहन)ले बैंकिङ क्षेत्रको जागिरबाट राजीनामा दिएर उद्यमशीलताको यात्रामा लागेको अनुभव सुनाउनुभयो। डिलाइट ग्रुपमार्फत हाल पाँच वटा परियोजना सञ्चालन भइरहेको र सबै व्यवसाय सकारात्मक रूपमा अघि बढिरहेको उहाँले जानकारी दिनुभयो। तत्कालीन भार्गव विकास बैंक तुलसीपुरका शाखा प्रबन्धक भण्डारीले जागिरले जीवनयापनको आधार दिए पनि उद्यमशीलताले व्यावसायिक प्रगति गर्न सहज हुने बताउनुभयो। युवा व्यवसायी गोरखबहादुर वलीले मुलुकको आर्थिक समृद्धि र रोजगारी सिर्जनाका लागि उद्यमशीलता अभियान अपरिहार्य रहेको बताउनुभभयो ।

ग्रीन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले असफलतापछि प्राप्त सफलता दिगो हुने भन्दै धैर्य, आत्मविश्वास र निरन्तर प्रयासले जुनसुकै चुनौती पार गर्न सकिने बताउनुभयो। नेपाललाई उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान युवाहरूले वस्तु तथा सेवा उत्पादन र बिक्रीमा जोडिनुपर्ने धारणा राख्नुभयो।

नगर युवा परिषद् तुलसीपुरका अध्यक्ष प्रकाश रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले स्थानीय सरकार युवा उद्यमशीलताको विकासमा सधैँ साथमा रहने बताउनुभयो। नगर युवा सञ्जाल तुलसीपुरका सदस्य केबी ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर युवा परिषद्का अध्यक्ष ओदबहादुर भण्डारी (गणेश)ले गर्नुभएको थियो।

कार्यक्रममा तुलसीपुरस्थित हिमाल एकेडेमी र गोरखा बोर्डिङ स्कुलका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
हरेक वर्ष अगस्ट १२ मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन उद्यमशीलता संवाद कार्यक्रम आयोजना गरिएको हो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस