२०८३ साउन २८ गते बिहिवार

रोल्पा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुग्यो

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा गएरातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । पहिरोमा बेपत्ता भएका ८ जनाको खोजी भैरहेको रोल्पा प्रहरीले जनाएको छ । दुई जनालाई घाईते अवस्थामा उद्धार गरी अस्पताल लगिएको छ ।

गएराति पौने ९ बजे घरमाथिबाट अचानक पहिरो खसेको पहिरोले ६ वटा घर तथा गोठ पुरेको थियो । घटनास्थलमा रातिदेखि नै स्थानीयबासिन्दा र सुरक्षाकर्मीले उद्धार तथा खोजी कार्य गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख पञ्चकुमार बाखुका अनुसार पहिरोमा परी थबाङ गाउँपालिका–५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुनमगर, ७१ वर्षीया मनरखी पुनमगर र ७५ वर्षिया डलबहादुर पुन मगरको ज्यान मृत्यु भएको छ ।

त्यस्तै, पहिरोमा परी २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर घाइते हुनुभएको छ । पहिरोमा बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुरुमा पहिरोमा १० जना बेपत्ता भएको विवरण आएको थियो । खोजीका क्रममा दुई जनाको शव फेला परेपछि अहिले ८ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घटनास्थलको भौगोलिक अवस्था, पहिरोको जोखिमका कारण उद्धारमा कठिनाइ भएको छ ।

थबाङ गाउँपालिका रोल्पा सदरमुकामबाट दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार सामग्री तथा थप जनशक्ति घटनास्थलसम्म पुर्‍याउन पनि चुनौती रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस