दाङ। पश्चिम दाङमा आँखा स्वास्थ्य सेवा विस्तार गरिएको छ । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालले संचालनमा ल्याएको पश्चिम दाङको हापुरेमा आँखा उपचार केन्द्रको आइतबार उद्घाटन गरिएको छ ।
नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षता,नेपाल नेत्रज्योति संघका केन्द्रिय महासचिव भरतबहादुर चन्दको प्रमुख आतिथ्यता तथा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा केन्द्रिय महासचिव चन्द र अध्यक्ष खत्रीले संयूक्तरुपमा आँखा उपचार केन्द्रको उद्घाटन गर्नुभएको हो ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले जिल्लाको पश्चिमी क्षेत्रमा रहेका सर्वसाधारणलाई सहज, सरल तथा गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले बबई गाउँपालिका वडा नं. ५, हापुरे बजारमा आँखा उपचार केन्द्र सञ्चालन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख आतिथि चन्दले २०३५ सालमा स्थापित नेपाल नेत्र ज्योति संघले देशभर २८ वटा आँखा अस्पताल र २५० भन्दा बढी आँखा उपचार केन्द्रमार्फत दृष्टिविहीनता न्यूनीकरण तथा आँखा स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउदै दाङको हापुरेमा सञ्चालन भएको आँखा उपचार केन्द्रबाट सर्वसाधारणले गुणस्तरीय आँखा उपचार सेवा पाउने बताउनुभयो ।
नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रले करिव ५ करोड २ लाख ६८ हजारलाई ओपिडि सेवा र ५६ लाख १९ हजार २ सय २४ को शल्यक्रिया गरि उज्यालो प्रदान गरेको महासचिव चन्दले बताउनुभयो ।
त्यस्तै बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले अव गाउँपालिकाका नागरिकहरुले पालिका भित्रनै आँखा उपचार सेवा पाने बताउनुभयो । आफुहरुले विगत देखिनै राप्ती आँखा अस्पताल संग साझेदारी गरेर आँखा उपचार तथा शल्यक्रिया सेवा नागरिलाई दिदै आएको र आगामी दिनमा पनि सहकार्य र साझेदारीमा जनतालाई आँखा उपचार सेवा दिने उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा नंं २ का अध्यक्ष अध्यक्ष टेकबहादुर वली स्थानीय वासी पूर्ण केसी, हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम खत्रीले दाङ जिल्लाको पश्चिमी तथा ग्रामीण भेगका धेरैजसो नागरिकहरू अझै पनि सहज रूपमा आँखा उपचार सेवा प्राप्त गर्नबाट वञ्चित रहेको अवस्थामा दुर्गम तथा सेवाबाट वञ्चित हजारौँ नागरिकले स्थानीयस्तरमै आँखा उपचार केन्द्रबाट सहज, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा प्राप्त गर्ने बताउनुभयो ।
कार्यक्रममा राप्ती आँखा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत जसराज विश्वकर्माले नेपाल सरकारको राष्ट्रिय आँखा स्वास्थ्य रणनीति तथा आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने लक्ष्य कार्यान्वयनमा समेत महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा सहित जनताको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने यस महत्वपूर्ण कार्यलाई मध्यनजर गर्दै बबई गाउँपालिका वडा नं. ५, हापुरे बजारमा आँखा उपचार केन्द्र सञ्चालन गरेको बताउनुभयो ।
त्यस अवसरमा निःशुल्क आँखा जाँच कार्यक्रम अन्तर्गत ६ सय बढीको आँखा चेकजाँच गरिएको र जस मध्य ८० भन्दा बढी शल्यक्रिया गर्नुपर्ने विरामीहरु फेला परेका छन् ।






















