२०८३ भाद्र ८ गते सोमवार

हाम्रो पहुँच माविका विद्यार्थीलाई डेंगी रोगसम्बन्धी सचेतना

दाङ ।
वर्षायामसँगै डेंगी रोगको जोखिम बढ्दै गएपछि तुलसीपुरमा विद्यार्थीलाई रोकथाम तथा नियन्त्रणबारे सचेतना प्रदान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७, झुमरेस्थित हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीलाई बिहीबार डेंगीसम्बन्धी सचेतनामूलक जानकारी गराइएको हो ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका डेंगी रोग फोकल पर्सन शिवप्रसाद तिवारीले डेंगी संक्रमणका कारण, लक्षण र रोकथामका उपायहरूबारे सहजीकरण गर्नुभएको हो ।

उहाँका अनुसार डेंगी रोग विशेष गरी ‘एडिज एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । संक्रमित व्यक्तिलाई टोकेको पोथी लामखुट्टेले अन्य स्वस्थ व्यक्तिलाई टोक्दा यो भाइरस एकबाट अर्कोमा फैलिने तिवारीले स्पष्ट पार्नुभयो ।

घर, आँगन र विद्यालय परिसरमा पानी जम्ने टायर वा खाल्टाखुल्टीमा लामखुट्टेले फुल पार्ने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । डेंगीबाट बच्न ‘खोज र नष्ट गर’अभियानलाई व्यापक बनाउनुपर्ने उहाँको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक शिव पुनको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका डेंगी रोग फोकल पर्सन शिवप्रसाद तिवारीको प्रमुख आतिथ्यता एवं हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीको विशिष्ठ आतिथ्यतामा भएको हो ।

सचेतना कार्यक्रमलगत्तै विद्यार्थीहरूले ‘खोज र नष्ट गर’ अभियानअन्तर्गत विद्यालय परिसरभित्र पानी जमेका स्थानहरूको पहिचान गरी लामखुट्टेका लार्भा र अण्डा नष्ट गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस