२०८३ भाद्र ८ गते सोमवार

तुलसीपुरमा महिला उद्यमी एकबद्ध : मौलिक संस्कृति प्रवद्र्धन तथा उद्यमशीलता र बजार पहुँचमा जोड

दाङ । दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील महिला उद्यमीहरू व्यवसाय र आत्मनिर्भरताका लागि एकतावद्ध भएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यमी परिषद्को आयोजनामा शनिबार दोघरेस्थित सभाहलमा सम्पन्न ‘तीज मिलन कार्यक्रम’मार्फत उनीहरूले आपसी एकता, सहकार्य र स्थानीय उत्पादनको बजारीकरणमा ऐक्यबद्धता जनाएका छन् ।

कार्यक्रममा सहभागी महिला उद्यमीहरूले आफूहरूले उत्पादन गरेका सामग्रीलाई स्थानीय बजारमा मात्र सीमित नराखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

पछिल्लो समय महिलाहरू व्यवसाय र आर्थिक क्षेत्रमा सक्षम बन्दै गएकाले उनीहरूलाई प्रोत्साहन र बजारीकरणको पहुँच आवश्यक रहेको धारणा सहभागीहरूको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले महिला उद्यमीका उत्पादनलाई बजारीकरण गर्न संघले आवश्यक सहजीकरण गर्ने बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई बजारसँग जोड्न सके उद्यमको थप विस्तार हुने उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नारायणी रजौरेलगायत वक्ताहरूले महिला उद्यमीहरूको सक्रियताको प्रशंसा गर्दै उनीहरूका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

महिला उद्यमी परिषद्की अध्यक्ष निरु ओलीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरू बिमल रिजाल, रामप्रसाद चालिसे, उपाध्यक्ष देवबहादुर केसी तथा परिषद्का पूर्व अध्यक्षहरूको सहभागिता रहेको थियो ।

सांस्कृतिक संरक्षण र उद्यमीहरूबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा महिला उद्यमीहरूले मौलिक सांगीतिक प्रस्तुति प्रस्तुत गर्नुका साथै शुभकामना र अनुभव साटासाट गरेका छन् । महिला उद्यमी परिषदका उपाध्यक्ष कल्पना विष्टको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन महिला उद्यमी परिषद्की सल्लाहकार सपना भण्डारी बस्नेतले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस