दाङ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष मानबहादुर रावतले राष्ट्रिय विपत्तिको घडीमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग गर्नुभएको छ । वडा अध्यक्ष रावतले कोषमा ११ हजार आर्थिक सहयोग गर्नुभएको हो ।
राष्ट्रलाई विपत्ति परेको अवस्थामा नागरिक र राष्ट्रप्रतिको सामाजिक दायित्व बोध गर्दै उहाँले सो रकम सहयोग गर्नुभएको हो । विपद्को यस कठिन समयमा विपद्मा परेका नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि टेवा पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको वडाध्यक्ष रावतले बताउनुभयो ।
‘संकटको बेला राज्य र जनतालाई साथ दिनु हाम्रो पहिलो कर्तव्य हो ।’ उहाँले भन्नुभयो–‘सक्नेजतिले सहयोग गरेर देशलाई बचाऔँ ।’ प्राकृतिक तथा राष्ट्रिय विपत्तिको बेला जनप्रतिनिधि आफैँ अघि सरेर सामाजिक दायित्व निर्वाह गरेको भन्दै स्थानीय स्तरमा उहाँको प्रशंसा गरिएको छ ।
उहाँको यो सहयोगलाई विपद् व्यवस्थापनमा नागरिक र जनप्रतिनिधिबीचको उत्तरदायित्वको अनुकरणीय उदाहरणका रूपमा हेरिएको छ ।






















