दाङ । चर्चित लोक दोहोरी गायिका टीका सानुले राष्ट्रिय विपत्तिको यस कठिन घडीमा सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार (राहत) कोषमा ५० हजार आर्थिक सहयोग गर्नुभएको छ ।
देशमा परेको प्राकृतिक विपद् र संकटको समयमा नागरिक दायित्व निर्वाह गर्दै उहाँले सो रकम सहयोग गर्नुभएको हो । गायिका सानुले सहयोग गरेको रकम सामाजिक संजाल फेसबुकमा सार्वजनिक गर्दै सहयोगका लागि सबैमा अपिल समेत गर्नुभएको छ ।
तुलसीपुर–४ निवासी गायिका सानुले विपद्मा परेका पीडितहरूलाई राहत तथा उद्धार कार्यमा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग रकम प्रदान गरेको बताउनुभयो ।
सङ्गीत क्षेत्रमा सक्रिय रहनुका साथै विभिन्न सामाजिक तथा मानवीय कार्यहरूमा निरन्तर अग्रसर रहँदै आएकी टीका सानुले बुधबार भएको प्राकृतिक विपत्तिप्रति दुख व्यक्त गर्नुभएको छ । उहाँले विपत्तको समयमा हवाई भाडा कम गरी राहत प्रदान गर्नुपर्ने समेत बताउनुभयो ।






















