२०८३ भाद्र २८ गते आइतवार

त्रिशिद्वेश्वरी राप्ती यातायातले बाढी प्रभावितलाई साढे ३ लाख बढी सहयोग दिने


दाङ । बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि तुलसीपुरले साढे ३ लाख बढी सहयोग गर्ने भएको छ ।

प्रालिले ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग रकम संकलन गरेको छ । बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रालिका पदाधिकारी तथा कर्मचारी र संस्थागत रूपमा उक्त रकम संकलन गरिएको हो ।

संकलित रकममध्ये प्रालिका पदाधिकारी तथा कर्मचारीबाट २ लाख ४८ हजार ८ सय ४३ रुपैयाँ तथा त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालिको तर्फबाट १ लाख ६ हजार ७ सय १२ रुपैयाँ रहेको छ। दुवै रकम गरी कुल ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ संकलन भएको प्रालिले जनाएको छ ।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ मार्फत बुझाइने भएको प्रालिका अध्यक्ष सुरेश हमालले बताउनुभयो ।

उहाँले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित परिवारलाई राहत पुर्‍याउन आफ्नो क्षेत्रबाट समेत सहयोग गर्ने उद्देश्यले रकम संकलन गरिएको बताउनुभयो ।

प्रालिले विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै पीडितको दुःखमा साथ दिन सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गर्नु भएको छ ।

संकलित रकम केहि दिन भित्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको खातामा जम्मा गर्ने प्रालिका लेखा सह संयोजक बिरेन्द्र कुमार खत्रीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस