२०८३ भाद्र २८ गते आइतवार

तुलसीपुर कारागारका कैदीबन्दीद्वारा बाढीपीडितलाई ६० हजार बढी सहयोग


दाङ । कारागार कार्यालय तुलसीपुरका कैदीबन्दीहरूले बाढी प्रभावितको राहतका लागि ६० हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् । नेपाल सरकारबाट दैनिक पाइने रासन सिदा नगद रु. ८० र ७०० ग्राम चामलबाट २ दिनको रकम कटाएर तुलसीपुर कारागारका ४०७ जना कैदीबन्दीहरूले ६० हजार २० प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।

सङ्कलित राहत रकम जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे र तुलसीपुर कारागारका प्रशासक गिर बहादुर सिजवालमार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको छ ।

जनस्वास्थ्य निरीक्षक दोर्ण वलीका अनुसार तीन वटा ब्लकका कैदीबन्दीहरूले सहयोग रकम जुटाएका हुन् । ’क’ ब्लकका चौकीदार शक्तिराम वलीका अनुसार १९७ जना कैदीबन्दीबाट २९ हजार ५४५, ‘ख’ ब्लकका चौकीदार अमृत वलीका अनुसार १४९ जना कैदीबन्दीबाट १९ हजार ६६८ रुपैँया संकलन भएको हो । यस्तै महिला ब्लकका चौकीदार डुक्सार राईका अनुसार ६१ जना कैदीबन्दी १० हजार ८०७ संकलन भएको हो ।

कारागारका ४०७ जना कैदीबन्दीबाट कुल ६० हजार २० संकलन भएको र प्रधानमन्त्री राहत कोषमा जम्मा गर्नका लागि रकम हस्तान्तरण गरिएको जनस्वास्थ्य निरीक्षक वलीले बताउनुभयो ।

आफूहरू कारागारको बन्दी जीवन बिताइरहेको भए तापनि विपत्तिको घडीमा बाढीपीडितको मलमपट्टीका लागि आफ्नो दैनिक भोजनको सिदा कटाएर सहयोग गरेको निकै सकारात्मक पक्ष भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । राष्ट्रलाई परेको विपत्तिको समयमा कैदीबन्दीको सहयोगले निकै महत्वपूर्ण सन्देश गएको उहाँको भनाई छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस