२०८३ भाद्र १९ गते शुक्रवार

बाढीमा निधन भएकाको शोकमा पतञ्जली योग साधना केन्द्रद्वारा दीप प्रज्वलन

दाङ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी निधन भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दाङको तुलसीपुर–७ श्रीगैँस्थित पतञ्जली योग साधना केन्द्रले दीप प्रज्वलन गरेको छ । मृतकहरूको शान्ति र मुक्तिको कामनासहित दीप प्रज्वलन गरिएको हो ।

बाढीमा परी निधन भएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भएका नागरिकहरूको सकुशल उद्धारको कामना गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अध्यक्ष इन्द्रमणि पोख्रेलको अध्यक्षता एवं तुलसीपुर–७ का वडा अध्यक्ष रामबहादुर जिसी प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । वडा अध्यक्ष जिसीले राष्ट्रलाई परेको विपत्तिमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । बाढी प्रभावितका लागि राहत संकलन गरी पठाउने तयारीसमेत गरिएको पतञ्जली योग साधना केन्द्र श्रीगैँले जनाएको छ ।

कार्यक्रममा पतञ्जली योग साधना केन्द्रका वरिष्ठ जिल्ला सल्लाहकार टोपबहादुर केसी, पतञ्जली युवा नेपालका जिल्ला प्रभारी मोती वली, नगर प्रभारी दुर्गा भण्डारी, पूर्व जिल्ला सदस्य इन्दिरा शर्मा, नगर महिला उपप्रभारी रोशना शाहलगायतको सहभागिता रहेको थियो ।

यस्तै, पूर्व संस्थापक अध्यक्ष नारायणप्रसाद भुसाल, पूर्व अध्यक्ष सरस्वती भण्डारी, पूर्व वडा प्रभारी निमा महतारा, केन्द्र उपाध्यक्ष रञ्जना भुसाल, सदस्य सुस्मिता गिरी, ईश्वरा महतारा र पूर्व कोषाध्यक्ष सुनिता केसीलगायतको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस