२०८३ असोज १ गते बिहिवार

सहकारी संस्थाले लिने अधिकतम ब्याजदर १३ प्रतिशत कायम


दाङ । सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम भएको छ । सहकारी रजिस्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी यसअघिको १६ प्रतिशतको सीमालाई घटाएर नयाँ सन्दर्भ ब्याजदर १३ प्रतिशत तोकेको हो ।

नयाँ व्यवस्थाअनुसार अब सहकारीले १३ प्रतिशतभन्दा धेरै ब्याज लिन पाउने छैनन् भने बचत र ऋणको ब्याजदरबीचको अन्तर ६ प्रतिशतभन्दा धेरै हुन नपाउने व्यवस्था गरिएको छ ।

यसैगरी ऋणको ब्याजलाई मूल ऋणमा पूँजीकृत गरी पुनः ब्याज लगाउन नपाइने र हर्जाना रकम असुल हुन बाँकी ब्याजको ५ प्रतिशतभन्दा धेरै लिन नपाइने कार्यालयले स्पष्ट पारेको छ । प्रशासनिक, सेवा वा नवीकरण शुल्कका नाममा थप रकम लिन नपाइने र सम्पूर्ण लागत ब्याजदरमै समावेश हुनुपर्नेछ ।

संस्थाले आफ्ना सबै सदस्यका लागि समान ब्याजदर कायम गरी अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ । ऋण प्रवाह गर्दा रकम सीधै ऋणीको व्यक्तिगत खातामा जम्मा गर्नुपर्ने निर्देशन दिइएको छ । -उज्यालोबाट

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस