२०८३ असोज ५ गते सोमवार

तुलसीपुरमा महिला स्कुटर स्लो रेस प्रतियोगिता हुने

तुलसीपुर, दाङ । महिलाको सहभागिता, आत्मविश्वास र सुरक्षित सवारी संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले तुलसीपुरमा महिला स्कुटर स्लो रेस प्रतियोगिता हुने भएको छ।

Artistic Entertainment को आयोजनामा हुने प्रतियोगिता आगामी असोज ७ गते बिहान ७ बजे तुलसीपुरस्थित अरनीको मैदानमा आयोजना हुने भएको हो।

प्रतियोगिताबारे जानकारी दिन आज (सोमबार) तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य, तयारी, नियम, पुरस्कार तथा सहभागिताका विषयमा जानकारी गराइएको थियो। कार्यक्रम ब्ल्याक डायमन्ड फिल्मस् प्रालिका अध्यक्ष तथा कार्यक्रमका संयोजक झग्गु भण्डारीको अध्यक्षता तथा वरिष्ठ पत्रकार नारायण खड्काको प्रमुख आतिथ्यतामा भएको हो।

प्रतियोगितामा सहभागी महिलाले निर्धारित ट्र्याकमा स्कुटर चलाउँदै सन्तुलन कायम गरी सबैभन्दा कम गतिमा अन्तिम रेखा पार गर्ने प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका क्रममा निर्धारित लाइनभित्रै रहनुपर्ने र स्कुटर चलाउँदा खुट्टा जमिनमा टेकाउन नपाइने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार रुपैयाँ, द्वितीयलाई २ हजार ५ सय रुपैयाँ र तृतीय हुनेलाई १ हजार २ सय ५० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

यस्तै, प्रतियोगितामा सहभागी सबै प्रतियोगीलाई दुईवटा टिकट उपलब्ध गराई नेपाली कथानक चलचित्र ‘बा एक योद्धा’ हेर्ने अवसर प्रदान गरिने संयोजक भण्डारीले जानकारी दिनुभयो। प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीका परिवारका सबै सदस्यलाई समेत उक्त चलचित्र हेर्ने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा सहभागी हुन कुनै शुल्क नलाग्ने पनि आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथि वरिष्ठ पत्रकार नारायण खड्काले दाङलाई सिने नगरीका रूपमा चिनाउन दाङका युवाहरू बसन्त लम्साल र अनिल बुढाथोकीले निर्माण गरेको चलचित्र ‘बा एक योद्धा’ले योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै चलचित्रको सफलताको शुभकामना दिनुभयो। उहाँले स्थानीय युवाको सिर्जनशीलता र प्रयासमार्फत दाङको पहिचानलाई थप फराकिलो बनाउन सकिने बताउँदै चलचित्र निर्माणमा सक्रिय निर्माता लम्साल र बुढाथोकीलाई धन्यवादसमेत दिनुभयो।

कार्यक्रममा नेपाल चलचित्र पत्रकार संघ, लुम्बिनी प्रदेशका संयोजक शिवकुमार पुन र दाङ शाखा अध्यक्ष निरला अर्याललगायतले प्रतियोगिताको सफलताको शुभकामना दिनुभएको थियो।

प्रतियोगितालाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको आयोजकले जनाएको छ। प्रतियोगिताको कार्यक्रम समन्वयक झग्गु भण्डारी रहनुभएको छ। प्रतियोगितामा सहभागिताका लागि ९८२३०६७८८८ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।कार्यक्रमको सहजिकरण पत्रकार बसन्त पौडेलले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस