२०८३ असोज ७ गते बुधवार

वर्षाले कृषिबालीमा क्षति हुन नदिन आवश्यक पूर्वतयारी गर्न किसानलाई नार्कको आग्रह


दाङ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले ठूलो वर्षा हुन सक्ने अवस्थालाई ख्याल गरी किसानलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

केन्द्रले कृषि मौसम सल्लाह बुलेटिनमार्फत् पर्सि शुक्रबारदेखि शुरु हुने ठूलो वर्षा र बाढीका बेला आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अनि कृषिबालीलाई जोगाउन आवश्यक पूर्वतयारी गर्न सल्लाह दिएको हो ।

विशेषगरी नदी तथा खोलाछेउका कृषि संरचना र धानबाली जोगाउन भनिएको छ । साथै खेतबारीमा जाने बाटो, गल्ली, कुलो तथा अन्य माध्यमबाट भेल पस्न नदिन, धान पाक्न लागेको खेत, तरकारीबारी र फलफूल बगैँचामा पानी निकासको व्यवस्था गर्न सुझाव छ ।

त्यस्तै, बालीमा अहिले रासायनिक मल, विषादी वा अन्य पोषक तत्व नहाल्न, कम्पोस्ट तथा गोठेमललाई पानीबाट जोगाएर राख्न र हावाहुरीबाट उखु ढल्न नदिन चार–पाँच वटा उखुलाई मुठा बनाएर डोरीले बाँध्न सल्लाह छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस