२०८३ कार्तिक ५ गते बिहिवार

शिक्षकले सवारी किन्दा ८० प्रतिशत किस्तागत ब्याज सरकारले तिरिदिने

दाङ। सरकारले शिक्षकलाई सवारी साधन खरिद गर्न सहुलियत दिने व्यवस्था प्रस्ताव गरेको छ ।

प्रस्तावित व्यवस्थाअनुसार शिक्षकले बैंकबाट सवारी साधन खरिदका लागि ऋण लिँदा लाग्ने किस्तागत ब्याजको ८० प्रतिशतसम्म नेपाल सरकारले व्यहोर्नेछ ।

यससम्बन्धी व्यवस्था समेटिएको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ ।

प्रस्तावअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले ५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाख रुपैयाँसम्मको सवारी साधन खरिद गर्न सक्नेछन् ।

त्यस्तै, माध्यमिक तह तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले चार लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

सवारी साधन खरिद गर्दा लाग्ने कुल रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज सरकारले सहुलियतस्वरूप व्यहोर्नेछ भने बाँकी २० प्रतिशत रकम शिक्षक आफैँले व्यवस्थापन गर्नुपर्नेछ ।

प्रस्तावित व्यवस्थाअनुसार शिक्षक सेवामा बहाल रहेसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले तिरिदिनेछ ।

शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा सहमतिका लागि पठाएको यो प्रस्ताव कार्यान्वयनमा आएपछि शिक्षकले सवारी साधन खरिद गर्दा ब्याजमा सहुलियत पाउनेछन् ।

तस्बिर : एआई

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस