२०८३ कार्तिक ५ गते बिहिवार

दाङ टेक्निकल इन्स्टिच्युटको जोड : दक्ष र जिम्मेवार जनशक्ति निर्माण


दाङ । दाङ टेक्निकल इन्स्टिच्युट प्रालिले शनिबार स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ । प्रालिले सामान्य चिकित्सा पहिलो वर्षका विद्यार्थीलाई स्वागत गरेको छ भने तेस्रो वर्षका विद्यार्थीलाई बिदाई कार्यक्रम गरेको हो ।

प्रालिका अध्यक्ष दोर्ण वलीको अध्यक्षता एवं प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लुम्बिनी प्रदेशका उपनिर्देशक यादव सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि सुवेदीले सीपयुक्त शिक्षाबाट मात्रै आत्मनिर्भर बन्न सकिने बताउनुभयो । उहाँले विद्यार्थीलाई विदेश जाने मोह त्यागेर स्वदेशमै सम्भावना खोज्न र आफ्नो सीप तथा दक्षताको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

तुलसीपुर सिटी हस्पिटल प्रालिका अध्यक्ष बिमल रिजालले सही र गलत काम छुट्याउन सक्ने क्षमता विकास गर्नुपर्ने बताउनुभयो । उहाँले समय र परिस्थितिअनुसार आफूलाई परिवर्तन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै राप्ती लाइफ केयर अस्पताल तुलसीपुरका अध्यक्ष हरिप्रसाद रिजालले स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले यस क्षेत्रमा कार्यरत जनशक्ति अझ बढी जिम्मेवार र अनुशासित हुनुपर्ने बताउनुभयो । उहाँले घरपरिवारबाट प्राप्त संस्कारलाई व्यवहारमा उतार्दै जिम्मेवार जनशक्ति बन्न र समयको महत्त्व बुझेर काम गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

त्यस्तै, तुलसीपुर सिटी हस्पिटलका प्रवन्धक निर्देशक हेमराज बस्नेतले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै विद्यार्थीलाई आवश्यक सीप र ज्ञान हासिल गरी दक्ष स्वास्थ्यकर्मीका रूपमा तयार हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा इन्स्टिच्युटमा तेस्रो वर्षमा अध्ययनरत छात्रा चेतना वलीले शैक्षिक सिकाइका दृष्टिले इन्स्टिच्युट उत्कृष्ट रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीले विभिन्न गीत तथा साहित्यिक रचना प्रस्तुत गर्नुका साथै विभिन्न भेषभूषा र संस्कृतिको झल्को दिने नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण प्रधानाध्यापक अशोककुमार यादव र सामान्य चिकित्सा दोस्रो वर्षमा अध्ययनरत छात्रा विधिका वलीले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस