दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ मा रहेको दुधरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १४औँ साधारणसभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष प्रमोद प्रसाद घिमिरेको अध्यक्षता तथा संस्थाका जेष्ठ सदस्य गोबिन्द रिजालको प्रमुख आतिथ्यता एवम् संस्थाका संस्थापक अध्यक्ष डिल्ली बहादुर बुढाथोकी र संस्थाका निवर्तमान अध्यक्ष केशवराज रिजालको विशिष्ट आतिथ्यतामा साधारणसभा भएको हो ।
साधारणसभामा प्रमुख अतिथि बुढाथोकीले सहकारीको वास्तविकता बुझेर जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारीको परिचय, उद्देश्य र जिम्मेवारीबारे स्पष्ट हुन आवश्यक रहेको उल्लेख गर्दै ऋण लगानी गर्दा ऋणीको उद्देश्य बुझेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, संस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार केशवराज रिजालले सहकारी दर्ता गर्न सजिलो भए पनि सञ्चालन गर्न कठिन हुने बताउनुभयो । उहाँले ऋण घरखर्चमा मात्र सीमित नगरी उत्पादन र रोजगारी सिर्जना गर्ने उद्देश्यले लगानी गर्न सके सबै शेयर सदस्यलाई लाभ पुग्ने धारणा राख्नुभयो ।
साधारणसभामा संस्थाका व्यवस्थापक शिवराज डाँगीले लेखा प्रतिवेदन, कोषाध्यक्ष सूर्य बस्नेतले वार्षिक प्रतिवेदन र सचिव युवराज डाँगीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
लेखा समितिले लक्ष्यअनुसार आम्दानी हुन नसक्दा ऋण प्रवाहमा समस्या देखिएको निष्कर्ष निकालेको छ । दैनिक बचत र शेयर सदस्यको सङ्ख्या बढे पनि खातामा मौज्दात रकम रहनु र ऋण लगानी कम हुनुले यस वर्ष अपेक्षाभन्दा कम नाफा भएको समितिले जनाएको छ । समितिले ब्याजदरमा हेरफेर गर्नसमेत सुझाव दिएको थियो ।
संस्थाले आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने निर्णय गरेको छ । बन्द सत्रमा छलफलपछि बजेट विनियोजन, लेखापरीक्षक, कोषाध्यक्षको प्रतिवेदन र सचिवको प्रतिवेदन पारित गर्दै साधारणसभा सम्पन्न गरिएको थियो ।
संस्थाले चालु आर्थिक वर्षमा सबै खर्च कटाएर ब्याज आम्दानीबाट १ लाख २७ हजार ९ सय ९८ रुपैयाँ ९५ पैसा खुद नाफा गरेको जनाएको छ । साधारणसभामा संस्थाको कुल सम्पत्ति ४ करोड १८ लाख ३४ हजार २ सय ८४ रुपैयाँ ६३ पैसा रहेको जानकारी गराइएको थियो ।
संस्थाका उपाध्यक्ष उर्मिला पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव युवराज डाँगीले गर्नुभएको थियो ।


























