दाङ। दाङको घोराहीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । दुर्घटनामा जिपमा सवार घोराही–१२ निवासी ४० वर्षीय सेरमान घर्तीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा निधन भएको हो । उहाँको शव सोही अस्पतालमा राखिएको छ ।
घोराहीबाट सासर खोलातर्फ जाँदै गरेको भे १ ज ६०४ नम्बरको जिप शुक्रबार साँझ घोराही उपमहानगरपालिका–१२ साजखर्कमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा जिप चालक घोराही–१२ निवासी ३७ वर्षीय थमन घर्ती मगरसहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिप दुर्घटनामा घाइते हुनेमा १३ वर्षीय उमेश बुढा, ६ वर्षीय विकास बुढा, २८ वर्षीय धनबहादुर घर्ती, २५ वर्षीय मानबहादुर बुढा र तुलसीपुर उपमहानगरपालिका–१३ निवासी ९ वर्षीय अनमोल पुन रहेका छन् । घाइते सबैको प्रतिष्ठानमा उपचार भइरहेको छ ।


























